© 2026
बुटवल । लुम्बिनी सिटी कलेजमा शुक्रबार शिक्षक, कर्मचारी र विद्यार्थीहरूको निःशुल्क आँखा चेकअप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कलेजको सभा हलमा आइटी क्षेत्रमा पठनपाठन गर्ने—गराउने सबैको आँखाको स्वास्थ्य परीक्षण अत्यन्त जरुरी हुनाले कार्यक्रमको सञ्चालन गरिएको र उक्त कार्यक्रममा सम्पूर्ण प्राध्यापक, प्रशासन कर्मचारी तथा बि.एस.सी. सी.एस.आइ.टी., बि.सि.ए.तथा बि.आइ.टी.एम.का विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन कृष्णालय आइ केयर, ड्राइभरटोल—०१ ले आँखा सम्बन्धी विज्ञहरूको टोलीलाई र चेकजाँच सामग्रीहरू कलेजमा उपलब्ध गराएर उक्त निःशुल्क शिविरमा १०० जनाभन्दा बढी शिक्षक, कर्मचारी र विद्यार्थीहरूको आँखा चेकजाँच गरिएको थियो ।
उक्त कार्यक्रममा स्नातक स्तरका आइटी अध्ययनरत विद्यार्थीहरूको आँखाको स्वास्थ्यको समस्या घटाउन शिविरका अतिथि अप्टो एसिस्टेन्ट सन्तोष त्रिपाठीले विभिन्न तरिका, सावधानी तथा व्यायामहरूको बारेमा प्रष्ट पारे।
शिविरका अन्य अतिथिहरू सुशिला कार्की, डा.अजित यादव, डा.उमा यादव, डा.कविता यादव लगायतका टोलीले आइटी पढ्ने विद्यार्थीहरूको आँखाको समस्याहरूको चेकजाँच गरेर ती समस्याका सुरक्षाका उपायहरूको बारेमा सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी सिटी कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा.डा.गणेश प्रसाद पाठकले विद्यार्थीहरूमा आइटी क्षेत्रको पढाइमा ल्यापटप तथा मोबाइलको अधिकतम प्रयोगले आँखामा अधिक खराबी गराउने हुँदा उक्त विषयमा सतर्क रहनुपर्ने बताए तथा अन्य स्वास्थ्य जस्तै आँखाको लागि पनि स्वस्थ राख्न विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुराको सुझाव दिए ।
सहायक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले कलेजले विद्यार्थीहरूको स्वास्थ्यमा ध्यान दिनुका साथै रोजगारी, स्वरोजगारी तथा उद्यमशीलताको लागि विद्यार्थीहरूलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराई बजारको मागअनुसार आइटी क्षेत्रमा पढ्ने—काम गर्ने र विद्यार्थीहरूमा आत्मनिर्भर बन्ने बानीलाई विकास गर्न सदैव तत्पर रहन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा लुम्बिनी सिटी कलेजका बि.सि.ए.तथा बि.आइ.टी.एम. कार्यक्रम संयोजक विशाल कंडेल र बि.एस.सी. सी.एस.आइ.टी.कार्यक्रम संयोजक सुजन ढकालको समन्वय तथा व्यवस्थापन तथा कक्षा प्रतिनिधिहरूको सहयोगमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो ।