Butwal Today

सुर्ती र मदिराको बढ्दो प्रयोगले जटिल रोगको जोखिम

२१ असार २०८३, आइतबार
अ+
अ-

लमही । मदिरा तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण क्यान्सर, मुटु रोग, फोक्सोका रोगलगायत जटिल स्वास्थ्य समस्या बढ्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

नियन्त्रणका लागि प्रभावकारी जनचेतना, कडा कानुनी कार्यान्वयन र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूले बताएका छन् । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले बिहीबार मसुरियास्थित गाउँपालिकाको सभा हलमा आयोजना गरेको ’मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोगलाई व्यवस्थित तथा नियमन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सहभागीहरूले राज्यले एकातर्फ मदिरा तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएको भन्दै सेवन नगर्न आग्रह गर्ने, अर्कोतर्फ उत्पादन, बिक्री र कर सङ्कलनलाई प्राथमिकता दिने दोहोरो नीतिले नियन्त्रण अभियान प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।

उनीहरूले विशेष गरी युवापुस्तामा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै विद्यालय, परिवार र समुदायस्तरबाट निरन्तर सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । सार्वजनिक स्थल, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाको वरपर यस्ता पदार्थको बिक्री वितरण नियन्त्रण गर्न स्थानीय तहले कानुन निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा विद्यालय तहदेखि नै सुर्ती तथा मदिरा नियन्त्रणसम्बन्धी शिक्षा समावेश गर्नुपर्ने, किशोर किशोरी लक्षित अभियान सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य संस्थामार्फत नियमित परामर्श सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता पनि औँल्याइयो ।

साथै स्थानीय सञ्चारमाध्यम, सामाजिक सङ्घसंस्था र नागरिक समाजको सक्रिय सहभागिताले मात्र यस्ता पदार्थको प्रयोग न्यूनीकरण गर्न सकिने धारणा सहभागीहरूले राखे । स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिममध्ये एक भएको बताए ।

उनका अनुसार सुर्तीको सेवनले मुख, घाँटी, फोक्सो, स्वरयन्त्र र पेटको क्यान्सर, मुटु रोग, उच्च रक्तचाप तथा अन्य दीर्घरोगको जोखिम बढाउँछ भने अत्यधिक मदिरा सेवनले कलेजो, मिर्गौला, मुटु र स्नायुसम्बन्धी रोग निम्त्याउँछ । यसले मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने उनले बताए ।

ठाकुरले सुर्ती र मदिराको लतले व्यक्तिगत स्वास्थ्यमा मात्र नभई परिवार र समाजमा पनि नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै घरेलु हिंसा, सडक दुर्घटना, आर्थिक सङ्कट, पारिवारिक विखण्डन तथा सामाजिक असुरक्षा बढाउने चेतावनी दिए।

उनले संविधान र प्रचलित कानुनले स्थानीय सरकारलाई जनस्वास्थ्य संरक्षणका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्ने अधिकार दिएको उल्लेख गर्दै स्थानीय तहले आफ्नै कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सक्ने बताए ।

कार्यक्रममा मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध बिक्री वितरण रोक्न नियमित बजार अनुगमन, सार्वजनिक स्थानमा धूम्रपान निषेध सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन तथा सचेतनामूलक कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?