Butwal Today

स्वाद फेर्न खोज्दा ज्यान गुम्ने जोखिम

२१ असार २०८३, आइतबार
अ+
अ-

सल्यान । असार साउनको झरीसँगै गाउँघरका पाखा पखेरा र वनजंगल हरियाली बनेका छन् ।

यही हरियालीसँगै जङ्गल र खेतबारीका कान्लाहरूमा प्राकृतिक रूपमा उम्रने च्याउको खोजीमा मानिसहरू निस्कने गरेका छन् । तर तरकारीको स्वाद फेर्न जङ्गलबाट टिपिने यी च्याउहरू कतिपय अवस्थामा एउटा सिङ्गो परिवारकै लागि काल बनेर आउने गरेका छन् । वर्षा याममा जङ्गली च्याउ खाएर बर्सेनि धेरै मानिसले अकालमै ज्यान गुमाउने दुःखद शृङ्खला अझै रोकिएको छैन ।

यसै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले पहिचान नभएका जङ्गली च्याउ सङ्कलन र उपभोग नगर्न विगतमा झैँ यस वर्ष पनि सचेतना अभियान चलाएको छ ।

परम्परागत भ्रम र पहिचानको कमीका कारण बर्सेनि निम्तिने यस्तो सङ्कटको वैज्ञानिक पाटो र यथार्थ झन् डरलाग्दो छ । वैज्ञानिक तथ्य अनुसार नेपालमा हालसम्म जमिनमाथि उम्रने वा आँखाले देख्न सकिने करिब १३०० प्रजातिका च्याउहरू छन् ।

वनस्पति विज्ञहरूका अनुसार यीमध्ये १०० भन्दा बढी प्रजातिहरू अत्यन्तै विषालु र ज्यानमारा छन् । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख एवं वैज्ञानिक अधिकृत डाक्टर मित्र पाठक भन्छन्, “केही च्याउका प्रजातिहरू यति घातक हुन्छन् कि तिनको एउटा सानो टुक्रा वा थोरै मात्रा मात्रै सेवन गर्दा पनि मानिसको शरीरमा गम्भीर असर पर्छ । ती च्याउमा हुने कडा विषले कलेजो र मिर्गौलालाई पूर्ण रूपमा फेल गराउने भएकाले मानिसको तत्कालै मृत्यु हुन सक्छ ।”

नेपाली समाजमा च्याउको गन्ध, स्वाद, रङ वा कीराले खाएको र नखाएको हेरेर विषालु हो वा होइन भनी छुट्टाउने भ्रम अझै कायम छ । कतिपयले कीराले खाएको च्याउ विषालु हुँदैन भन्ने ठानेर ढुक्कसँग पकाउने गर्छन् । तर डा. पाठकले वैज्ञानिक परीक्षणविना च्याउको बाहिरी रूप, गन्ध वा रङ हेरेर मात्र विषालु हो कि होइन भनेर छुट्टाउनै नसकिने बताउँछन् । “धेरैजसो खतरनाक च्याउहरू सामान्य खाने च्याउ जस्तै आकर्षक र भ्रमपूर्ण देखिन्छन् । त्यसैले थोरै मात्र शङ्का लागे पनि जङ्गली च्याउ नखानु नै सबैभन्दा सुरक्षित उपाय हो”, उनले भने ।

मुख्य घातक च्याउहरू
नेपालमा पाइने घातक विषालु च्याउमध्ये अमेनिटा भाइरोसा मुख्य मानिन्छ । यो प्रायः जङ्गल, झाडी र सिँचाइ भएका सल्लो तथा बाक्लो वन क्षेत्रमा पाइन्छ । यसैगरी अमेनिटा कन्सेन्ट्रीका नामको विषालु च्याउ पनि खेत, झाडी र सल्लेरी वन क्षेत्रमा देखिने गरेको छ ।

अनुसन्धान केन्द्रका अनुसार अमेनिटा लङ्गिस्ट्रियाटा, अमेनिटा फालोइडेस र अमेनिटा सबग्लोबोसा पनि खेत, झाडी तथा सिँचाइ भएका वन क्षेत्रमा फैलिएका छन् । यी च्याउ सामान्य खाने च्याउ जस्तै देखिएपनि भित्र घातक विष बोकेका हुन्छन् । सल्लोको वन र झाडीमा उम्रने अमेनिटा भर्ना प्रजाति समेत यही ज्यानमारा सूचीमा पर्छ ।

अमेनिटा समूहबाहेक तराईदेखि उच्च पहाडसम्मका स्याउ र सल्लोका रुख, खेत र झाडीमा ग्यालेरीना मर्जिनाटा नामको अर्को खतरनाक च्याउ पाइन्छ । यस्तै सिँचाइ भएका खेत र झाडीमा फस्टाउने माइसिना पुरा र हाल नेपालमा खतरनाक विषालु च्याउको रूपमा पहिचान गरिएको पाक्सिलस इनभोलुटस नामका च्याउहरू पनि निकै घातक प्रमाणित भएका छन् ।

यी हुन् लक्षण र विज्ञको सुझाव
जङ्गली च्याउ खाएपछि यसको विषले शरीरमा बिस्तारै र गम्भीर रूपमा प्रभाव पार्छ । सुरुमा देखिने लक्षणहरूलाई धेरैले सामान्य अपच सोचेर बेवास्ता गर्दा स्थिति नियन्त्रण बाहिर जाने गरेको छ । वनस्पति अनुसन्धान केन्द्रका अनुसार सुरुवाती लक्षणहरू सामान्य पेट दुख्ने, बान्ता हुने र कडा पखाला लाग्ने जस्ता हुन्छन् । विष फैलिँदै गएपछि बिस्तारै चेतना हराउने (बेहोस हुने) र मिर्गौला तथा कलेजो स्थायी रूपमा ध्वस्त भई मानिसको ज्यान जाने सम्म हुन्छ ।

जङ्गली च्याउको उपभोगबाट बच्नका लागि पहिचान नखुलेको च्याउ पूर्ण रूपमा निषेध गर्नु नै एक मात्र विकल्प हो । यदि अन्जानमा जङ्गली च्याउ खाएपछि शरीरमा कुनै पनि असहज लक्षण देखिएमा घरेलु उपचार वा झारफुकमा अल्झिएर समय बर्बाद नगर्न र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न डा. पाठकले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?