Butwal Today

शुक्रबार साँझ गृहमन्त्री गुरुङ सुटुक्क कोशी प्रदेश पुगे

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ पूर्वसूचना नै नदिई कोशी प्रदेश पुगेका छन्। सीमा क्षेत्रमा बढ्दो तस्करी र राजस्व चुहावटबारे जनस्तरबाट गुनासो बढिरहेका बेला उनले सीमावर्ती क्षेत्रको आकस्मिक स्थलगत निरीक्षण थालेका हुन्।

सुरक्षा स्रोतका अनुसार सुनसरी र मोरङका सुरक्षा निकायले गृहमन्त्री प्रदेशमा आएको जानकारी पाए पनि उनी कुन नाका वा सीमाक्षेत्र निरीक्षण गर्ने भन्नेबारे पूर्वजानकारी पाएका थिएनन्। त्यसपछि मोरङका सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।

गृहमन्त्री गुरुङले विराटनगर आसपासका दक्षिणी सीमावर्ती नाका तथा प्रवेश बिन्दुको निरीक्षण गर्दै सीमा सुरक्षाको वास्तविक अवस्था, तस्करी नियन्त्रणमा देखिएका चुनौती र सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ। उनले सीमाक्षेत्रमा खटिएका सुरक्षा निकायसँग छलफल गर्नुका साथै स्थानीय अवस्थाबारे समेत जानकारी लिनेछन्।

यसअघि पनि गृहमन्त्री गुरुङले पर्साको सीमाक्षेत्रको निरीक्षण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। त्यसक्रममा उनले तस्करी, सीमा सुरक्षा तथा राजस्व चुहावटका विषयमा स्थानीयको गुनासो सुनेका थिए।

सरकारले सीमा सुरक्षा सुदृढ बनाउने, अवैध तस्करी नियन्त्रण गर्ने र राजस्व चुहावट रोक्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेका बेला गृहमन्त्रीको यो पूर्वसूचनाविनाको कोशी भ्रमणलाई सीमा व्यवस्थापनको प्रभावकारिता परीक्षण गर्ने कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?