© 2026
सल्यान । आर्थिक वर्ष २०८२ र ८३ को अन्तिम समयमा कामको चाप बढेपछि सल्यानको कुमाख गाउँपालिकाले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै यही असार २० र २१ गते परेको सार्वजनिक बिदाका दिन पनि नियमित रूपमा सेवा सञ्चालन गरिने जनाएको हो ।
नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएको भए पनि आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणसँग सम्बन्धित काम, योजना भुक्तानी तथा अन्य प्रशासनिक कार्यको चाप बढेकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भुपाल खड्काले विकास योजनाको बिल भुक्तानी, आर्थिक कारोबार तथा सेवाग्राहीसँग सम्बन्धित अन्य सेवा बिदाका दिन पनि उपलब्ध गराइने बताए । गाउँपालिकाले सेवाग्राहीलाई आवश्यक कामका लागि तोकिएको समयमा कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।
आर्थिक वर्षको अन्तिम समयमा सेवा प्रवाहलाई प्रभावकारी, छिटोछरितो र सहज बनाउन बिदाको दिनमा समेत कार्यालय सञ्चालन गरिने पालिकाले जनाएको छ ।