Butwal Today

कालो स्टिकरमाथि ट्राफिकको एक्सन

१८ असार २०८३, बिहीबार
अ+
अ-

चन्द्रौटा । सवारीसाधनमा जडान गरिएका नियम विपरीतका कालो स्टिकर ९ब्ल्याक फिल्म० हटाउने अभियान सुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बुधबारबाट सञ्चालन गरेको अभियानको पहिलो दिनमै ४२ वटा सवारीसाधनबाट कालो स्टिकर हटाइएको छ ।

जिल्लाका विभिन्न स्थानमा ट्राफिक चेकजाँचलाई तीव्र बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए । उनका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो । अभियानमा मातहतका ट्राफिक इकाइहरू पनि सहभागी थिए ।

प्रहरीका अनुसार सवारीसाधनको सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्दा चालकको दृश्य क्षमता प्रभावित हुने, सडक सुरक्षामा जोखिम बढ्ने तथा आपराधिक घटनाको अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐनले सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ ।

सोही कानुनी व्यवस्थाअनुसार जडान गरिएका गैर कानुनी कालो स्टिकर हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रहरी सहायक निरीक्षक सर्जन प्रसाद थारुले बताए ।

ट्राफिक प्रहरीले सवारी धनीलाई कानुनको पूर्ण पालना गर्न तथा नियम विपरीतका कालो स्टिकर प्रयोग नगर्न आग्रह गर्दै यस्तो अनुगमन र कारबाही अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी जवान सुजन पौडेलले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?