© 2026
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले पछिल्ला चार वर्षमा विकास र सेवा प्रवाहका क्षेत्रमा गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनको विकास मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा सरोकारवालाबिच खुला बहस भएको छ ।
बहसका सहभागीहरूले पूर्वाधार, स्वास्थ्य र सुशासनमा उल्लेखनीय प्रगति देखिए पनि शिक्षा, कृषि बजारीकरण र पर्यटन प्रवर्द्धनमा अझै प्रभावकारी रणनीति आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
लुम्बिनी प्रेस क्लबको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा बुधबार सम्पन्न ‘ओमसतिया न्यूज फेस्टिवल’ अन्तर्गत आयोजित प्यानल छलफलमा जनप्रतिनिधि, कर्मचारी, कृषक, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूले गाउँपालिकाको विकास मोडलमाथि खुलेर समीक्षा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई केन्द्रमा राखेर पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको दाबी गरे । स्वास्थ्य पूर्वाधार विस्तार, कृषिको आधुनिकीकरण, सडक निर्माण तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै उनले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमार्फत ओमसतियालाई पर्यटनको नयाँ गन्तव्य बनाउने योजना रहेको बताए ।
“सबै अपेक्षा पूरा भइसकेको छैन, तर विकासको आधार तयार गर्ने काम निरन्तर भइरहेको छ,“ अध्यक्ष यादवले भने । उपाध्यक्ष सुनिता चौधरीले न्यायिक समितिको प्रभावकारी सञ्चालन, विकास आयोजनाको अनुगमन, सडक कालोपत्रे तथा महिला, युवा र लक्षित वर्गका लागि सीपमूलक कार्यक्रम सञ्चालनलाई गाउँपालिकाका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिन् । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ थियो ।
तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले विकासका उपलब्धिसँगै कमजोरी पनि स्वीकार गरे । उनले स्वास्थ्य क्षेत्रमा पालिकाले राम्रो प्रगति हासिल गरे पनि शिक्षा क्षेत्रको गुणस्तर अझै सन्तोषजनक बन्न नसकेको बताए ।
“शिक्षा सुधारका लागि गरिएका कतिपय प्रयास अपेक्षाअनुसार सफल हुन सकेका छैनन् । अब फरक सोच, नयाँ रणनीति र समुदायको सक्रिय सहभागिता आवश्यक छ,” उनले भने । पन्थीले कृषि, पर्यटन र ऐतिहासिक सम्पदाको संरक्षणलाई एकीकृत रूपमा अघि बढाउन सके स्थानीय अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे ।
प्यानल छलफलमा टिप्पणी गर्दै पत्रकार सुरु राना मगरले गाउँपालिकाले विकासका लागि थालेका पहल सकारात्मक भए पनि परिणाममुखी कार्यान्वयनमा अझै सुधार आवश्यक रहेको बताइन् । योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता, जनसहभागिता र प्रभावकारितामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
कृषक प्रतिनिधि सीता चौधरीले कृषि क्षेत्रमा केही सुधार भए पनि किसानका मुख्य समस्या अझै समाधान हुन नसकेको बताइन् । मल, उन्नत बीउ, सिँचाइ, कृषि उपकरण तथा उत्पादनको बजार व्यवस्थापनमा स्थानीय सरकारले थप ध्यान दिनुपर्ने उनको माग थियो ।
छलफलका क्रममा पत्रकारहरूले शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, विकास आयोजनाको प्रभावकारिता तथा भावी योजनाबारे जनप्रतिनिधिसँग प्रश्न उठाएका थिए । वडा नम्बर २ का वडा अध्यक्ष शीतल जिटी, ३ का प्रकाश सिंह, ५ का मदन पोखरले र ६ नम्बर वडाका वडाध्यक्ष शिवकुमार धवलले पनि आफ्ना क्षेत्रमा भएका विकास निर्माण, सेवा प्रवाह र स्थानीय आवश्यकताबारे जानकारी गराएका थिए ।
कार्यक्रम संयोजक तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपक घिमिरेले स्थानीय सरकारका उपलब्धि र चुनौतीलाई सार्वजनिक बहसमार्फत नागरिक माझ ल्याउने उद्देश्यले न्यूज फेस्टिवल आयोजना गरिएको बताए । आगामी दिनमा अन्य स्थानीय तहमा पनि यस्ता बहसलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
क्लबका अध्यक्ष कमल रायमाझीले ओमसतियामा कृषि, धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रशस्त सम्भावना भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा पालिका ओझेलमा परेको बताए । सञ्चार माध्यम र स्थानीय सरकारबिच सहकार्य बढाएर गाउँपालिकाको पहिचान स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष यादव, अध्यक्ष रायमाझी, गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष मदनप्रसाद पोखरेल र प्रेस क्लबका पूर्व अध्यक्ष नरेश केसीले कृषिको बजारीकरण, शिक्षा सुधार, पर्यटन प्रवर्द्धन र आधुनिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउन सके ओमसतियाले समृद्धिको स्पष्ट मार्ग तय गर्न सक्ने धारणा व्यक्त गरे ।
छलफलको निष्कर्षमा सहभागीहरूले अबको विकास मोडल केवल सडक र भवन निर्माणमा सीमित नराखी गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, आधुनिक कृषि, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र सुशासनलाई केन्द्रमा राखेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।