© 2026
सल्यान । बिहानैदेखि ट्रक, पिकअप र किसानको भीडले भरिने सल्यान कपुरकोट स्थित तरकारी हाटबजारमा यतिबेला बेमौसमी तरकारीको चहलपहल निकै बढेको छ । पछिल्लो मङ्गलबार मात्र यहाँ एकै दिन ३० लाख रुपैयाँभन्दा बढीको तरकारी कारोबार भएको छ ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मंगलबार सञ्चालन भएको हाटबजारमा कपुरकोट गाउँपालिका क्षेत्रका किसानहरूले ७८ हजार २७६ किलो ताजा तरकारी बिक्री गरी ३० लाख ४० हजार ८०५ रुपैयाँ आम्दानी गरेका छन् ।
बजार प्रतिनिधि चन्द्रमणि खड्काका अनुसार यस दिन टमाटर प्रतिकिलो २५ देखि ३८ रुपैयाँ, बन्दागोभी ४० देखि ५२ रुपैयाँ, घ्यूसिमी ५० देखि ५५ रुपैयाँ, फूलगोभी ३५ देखि ४५ रुपैयाँ तथा भेडे खुर्सानी ८० देखि ९० रुपैयाँमा बिक्री भयो ।
त्यसै गरी अकबरे खुर्सानी १४० देखि १५० रुपैयाँ, मोटो खुर्सानी ८५ देखि ९० रुपैयाँ तथा काँक्रो र मूला २५ देखि ३० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भएको बजार केन्द्रले जनाएको छ । गत वर्ष जेठ अन्तिम सातादेखि मङ्सिरसम्म ७८ लाख ५९ हजार ९३६ किलो तरकारी बिक्री हुँदा ३० करोड ५१ लाख २२ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भएको तथ्याङ्क बजार केन्द्रसँग छ ।
कपुरकोटमा वि.सं. २०४७ सालदेखि व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती सुरु भएको हो । तराई र सहरी क्षेत्रमा गर्मी तथा वर्षाका कारण उत्पादन घट्ने जेठदेखि मंसिरसम्मको अवधिमा यहाँको चिसो हावापानी र पहाडी भूगोलले प्रशस्त तरकारी उत्पादन हुने भएकाले कपुरकोट बेमौसमी तरकारी उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै आएको छ ।
यस वर्षको नयाँ सिजन जेठ अन्तिम सातादेखि सुरु भएको हो । हाटबजार सञ्चालनको पहिलो दिन २१ हजार ३०५ किलो तरकारी बिक्री भई नौ लाख २९ हजार ७१२ रुपैयाँ बराबरको कारोबार भएको थियो । अहिले उत्पादन बढेसँगै दैनिक कारोबार पनि उल्लेखनीय रूपमा बढ्न थालेको छ ।
यद्यपि सिजनको सुरुवात भने किसानका लागि सहज थिएन । ब्याड हुर्कने र विरुवा रोप्ने समयमा परेको लगातार वर्षा र असिनापानीले धेरै किसानको बालीमा क्षति पु¥याएको थियो । कतिपयले पुनः ब्याड तयार गरी बिरुवा रोप्नुपरेको थियो । कपुरकोट गाउँपालिकाका सातै वडा, छिमेकी सल्यानको त्रिवेणी गाउँपालिका तथा रोल्पाको त्रिवेणी गाउँपालिकाका किसानहरू पनि तरकारी खेतिमा आबद्ध छन् ।
यस क्षेत्रमा गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, भेडे खुर्सानी, अकबरे खुर्सानी, काँक्रो, स्कुस, मूला र हरियो केराउ मुख्य बालीका रूपमा उत्पादन गरिन्छ । अदुवा, टिमुर, लसुन, प्याज, नास्पाती र सुन्तलाको उत्पादन पनि राम्रो हुने गरेको छ ।
कपुरकोट हाटबजारमा दाङ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी लगायत विभिन्न सहरबाट व्यापारीहरू तरकारी खरिद गर्न आउने गर्छन् । पछिल्ला वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि स्थानीय महिलासम्म व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
तरकारी खेतीबाट राम्रो आम्दानी भइरहे पनि किसानले सिँचाइको अभाव, समयमा रासायनिक मल नपाउने समस्या र शीतभण्डारको कमी झेलिरहेका छन् । न्यूनतम समर्थन मूल्य निर्धारण, सिँचाइ पूर्वाधार विस्तार र बिचौलियाको प्रभाव घटाएर प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसकेमा यहाँको तरकारी खेती अझ व्यवस्थित बन्ने देखिन्छ ।
यता कृषि विज्ञहरूले पछिल्लो समय तरकारी खेतीमा रासायनिक विषादीको अनियन्त्रित प्रयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । रोग कीरा नियन्त्रणका नाममा प्राविधिक मापदण्ड भन्दा बढी विषादी प्रयोग गर्दा किरामा प्रतिरोध क्षमता विकास हुनुका साथै किसान र उपभोक्ता दुवैको स्वास्थ्यमा जोखिम बढ्ने उनीहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार विषादी छर्कँदा मास्क, पन्जाजस्ता सुरक्षा सामग्री प्रयोग नगर्दा किसानमा तत्काल स्वास्थ्य समस्या देखिन सक्छ भने दीर्घकालमा श्वासप्रश्वास, कलेजो, मिर्गौला र क्यान्सर सम्मको जोखिम बढ्न सक्छ ।
कपुरकोट क्षेत्रका मानिसहरूमा पछिल्लो समय क्यान्सर रोगको समेत समस्या देखिएकाले यसको विस्तृत अध्ययन हुन आवश्यक छ । साथै विषादी छरेको निश्चित अवधि पूरा नहुँदै तरकारी बजार पठाउँदा त्यसको अवशेष उपभोक्तासम्म पुग्ने खतरा रहने विज्ञहरूले औँल्याएका छन् ।
अत्यधिक विषादी प्रयोगले माटोका मित्र जीव नष्ट हुने, भूउर्वराशक्ति घट्ने तथा वर्षासँग बगेर खानेपानीका मुहान र खोलानाला समेत प्रदूषित हुने भएकाले सुरक्षित र सन्तुलित विषादी प्रयोगमा सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ ।