© 2026
चन्द्रौटा । सशस्त्र प्रहरीले सीमावर्ती गाउँमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद थालेको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले केही समयदेखि संवाद थालेको हो । अन्तरक्रियामा सुरक्षा चुनौतीभन्दा बढी सीमावासीले दैनिक जीवनसँग जोडिएका समस्याहरू सुनाएका छन् ।
सशस्त्र प्रहरी बल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्रौटाले कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकर चौडामा आयोजना गरेको गरिएको छ ।
अन्तरक्रियामा स्थानीयहरूले ५ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन नपाउने व्यवस्था, छोटी भन्सार नाका बन्द हुँदा भोग्नुपरेको सास्ती तथा कृषि प्रयोजनका लागि आवश्यक मल खाद भारतबाट ल्याउँदा रोक लगाइने समस्याबारे गुनासो गरेका थिए ।
सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरू सुरक्षा निकायसँग सहकार्य गर्न तयार भए पनि राज्यका नीतिका कारण दैनिक जीवन नै प्रभावित भएको बताएका थिए । उनीहरूले सीमा क्षेत्रमा लागू भएका व्यवस्थाले स्थानीयको आवश्यकता र वास्तविकतालाई समेत ध्यान दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा बाहिनीपति सशस्त्र नायब महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षामा सीमावासीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार राजस्व चुहावट, तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि स्थानीयसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सीमावासीबाट प्राप्त सुझाव र गुनासोलाई सम्बन्धित निकायसम्म पु¥याइने छ ।
सशस्त्र प्रहरी अब सीमामा सुरक्षा व्यवस्था मात्र होइन, समुदायसँगको सम्बन्धलाई पनि सुदृढ बनाउने रणनीतिमा अघि बढेको छ । त्यसका लागि गाउँ स्तरमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिएको उनले बताए ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले भने सुरक्षा व्यवस्थासँगै आफ्नो दैनिक जीवनलाई सहज बनाउने नीति र व्यवस्थाप्रति पनि सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।
सशस्त्र प्रहरी बलको २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जिल्लाका सबै सीमावर्ती गाउँमा यस्ता अन्तरक्रिया कार्यक्रम विस्तार गरिने बताए ।
उनका अनुसार ‘बोर्डर इन्टरएक्सन टिम (बीआईटी)’ अवधारणाअन्तर्गत सञ्चालन गरिएको अभियानले सीमा क्षेत्रमा सूचना आदानप्रदान, जनविश्वास अभिवृद्धि र अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।