Butwal Today

भ्रष्टाचार मुद्दामा दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह दोषी ठहर

१७ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा.शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतको फैसला सदर गरेको हो ।

यसअघि विशेष अदालतले अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै साहलाई दोषी ठहर गरेको थियो । साथै, सुशीलाकुमारी साहको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न आदेश दिएको थियो । विशेष अदालतले २०७५ पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतले साहले गैरकानूनी रूपमा ६८ लाख २४ हजार रुपैयाँ आर्जन गरेको निष्कर्ष निकाल्दै सोही बराबरको जरिवाना र ९ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले दुग्ध विकास संस्थानमा टेक्निकल अफिसरदेखि प्रबन्ध निर्देशकसम्मको जिम्मेवारी सम्हाल्ने क्रममा पदको दुरुपयोग गर्दै अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारका अनुसार साहले पदमा रहँदा झन्डै २ करोड ३८ लाख ६८ हजार ३० रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको थियो ।

अभियोगपत्रमा उल्लेख भएअनुसार साहले पेस गरेको सम्पत्ति विवरणबाट उनको वैध आयआर्जन १ करोड ४४ लाख ९७ हजार १ सय ३४ रुपैयाँ देखिएको छ । तर आम्दानीको तुलनामा खर्च तथा लगानी भने ३ करोड ८३ लाख ६५ हजार १ सय ६४ रुपैयाँ पुगेको पाइएको छ ।

प्रबन्ध निर्देशक साहले पेस गरेको सम्पत्ति विवरण, आम्दानी र हालको सम्पत्तिबीच स्पष्ट तालमेल नदेखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?