© 2026
कपिलवस्तु । कपिलवस्तु जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु नगरपालिकाको सभाहलमा उक्त घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेशको १२ जिल्ला मध्य छैठौं जिल्लाको रूपमा कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । मन्त्री घिमिरेले पुर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेस्रो संस्करण २०७७) बमोजिम मातहतका स्थानिय तहहरूमा सम्पुर्ण प्रक्रियाहरू पुरा गरि २०८३ जेठ २६ गते सम्म १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पूर्ण खोप पाएको सुनिचितता भएको उल्लेख गरिएको पूर्ण खोप सुनिचितता जिल्ला प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रदेश पूर्ण खोप समन्वय समितीको सचिवालयका तर्फबाट प्रदान गरिएको प्रमाणपत्र जिल्ला खोप समन्वय समितीका अध्यक्ष तथा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य तथा खोप समन्वय समितीका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाललाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री घिमिरेले पुर्ण खोप सुनिश्चितता र दिगोपनामा कपिलवस्तुले महत्वपुर्ण उपलब्धी हासिल गरेको र सो उपलब्धीलाई निरन्तरता दिनु पर्नेमा जोड् दिए । ५ बर्ष सम्मका बालबालिकालाई १४ प्रकारका रोग बिरुद्ध दिइने खोप विश्वभर एउटै हुने भएकाले विश्व समुदायको खोपप्रतिको चासो रहने उनले स्पष्ट पारे ।
बालबालिकालाई जीवनभर स्वस्थ बनाउन खोपलाई प्राथमिकता दिनु पर्नेमा जोड दिंदै कार्यक्रममा केही स्थानीय तहका प्रमुखको अनुपस्थितिले अभियानमा अपनत्व ग्रहण नगरेको देखिएको भन्दै उनले असन्तुष्टी पोखे । तोकिएका बालबालिकालाई पूर्ण खोप दिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाको प्रक्रिया अगाडि बढाईएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताए । उनले घोषणा सफल बनाउन भूमिका खेल्ने सबै सरोकारवालाई धन्यवाद दिए ।
हाल जिल्लामा जन्मिएदेखि १५ महिनाका १४ हजार ५ सय ३ जना बालबालिकाले खोप पाई रहेको र १६ देखि ५९ महिनाका १२ हजार ९० बालबालिकाले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए ।
माघ महिनादेखि नै खोज र खोप अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले लाइन लिस्टिङ गर्ने क्रममा बिचमै खोप छोडेका ५ सय ४२ र शून्य डोज लिएका ७ जनालाई खोपको दायरामा ल्याएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गर्ने कार्यमा अगाडि बढाइएको प्रमुख ढकालले प्रष्ट्याए ।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले दिगो विकासको लक्ष्य पूरा गर्न खोप अभियानलाई नियमित कार्यको रूपमा अगाडि बढाइएको प्रष्ट्याए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले न्यून श्रोतमा अधिकरतम सेवा प्रवाह गर्दै आएकाले स्वास्थ्यका अभियान सफल बनाउन सकिएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आयुर्वेदविज्ञ विभाकर ठाकुर, शिक्षा समन्वय इकाईका प्रमुख माधव बन्जाडे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाई, स्वास्थ्यका खोप फोकल पर्सन केदार साह, सञ्चारकर्मी भुपाल थापा लगायतले सबैको सहकार्यमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा सम्भव भएको बताए ।
कार्यक्रममा घोषणा अभियानमा जुटेका स्वास्थ्यकर्मी तथा स्वयंसेविका गरी १ सय २० जनालाई घोषणासभामा सम्मान गरिएको थियो । सो क्रममा मन्त्री सहितका सहभागीले अभियानका पक्षमा सामुहिक हस्ताक्षर गरि प्रतिबद्धता समेत जनाएका थिए ।