© 2026
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा उपलब्ध हुनेछ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब १४।२ किलोको ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ र ७।१ किलोको सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ। पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि भने ‘ब्रेक इभन पोइन्ट’का आधारमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका आधारमा स्वचालित मूल्य समायोजन प्रणालीअनुसार इन्धनको मूल्य घटाइएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही समयअघिदेखि नै घट्दै आए पनि निगमले भारतीय आयल कर्पोरेसन आईओसी बाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार बनाएर मात्रै मूल्य समायोजन गरेको भन्दै यसअघि मूल्य घटाउन ढिलाइ गरेको आरोप उपभोक्ताबाट लाग्दै आएको थियो।