© 2026
बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको तथ्य सार्वजनिक भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको वैशाख र जेठ महिनाको कार्यप्रगति तथा सवारी दुर्घटना समीक्षा विवरणअनुसार जेठ महिनामा चालकको कमजोरीका कारण भएका दुर्घटनामध्ये सबैभन्दा धेरै ९९ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन। तथ्याङ्कअनुसार चालकको असक्षमताका कारण १८, मादक पदार्थ सेवन मापसेका कारण १७, मोबाइल फोन प्रयोग गर्दा १, अनावश्यक ओभरटेक गर्दा २, लेन उल्लंघनका कारण १ तथा अन्य लापरबाहीका कारण ३ वटा दुर्घटना भएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले वैशाखको तुलनामा जेठ महिनामा दुर्घटना, मृत्यु र घाइतेको संख्या उल्लेखनीय रूपमा घटेको बताए। उनका अनुसार वैशाखमा १८९ वटा सवारी दुर्घटना भएकोमा जेठमा १५० मा झरेको छ। दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ७३ बाट घटेर ४० पुगेको छ भने घाइतेको संख्या पनि ३८६ बाट घटेर २५५ मा सीमित भएको छ।
“दुर्घटनामा आएको कमी ट्राफिक प्रहरीको सक्रिय निगरानी, कडाइका साथ गरिएको कारबाही र व्यापक जनचेतनामूलक अभियानको प्रतिफल हो,” प्रमुख प्रहरी उपरीक्षक थापाले बताए। “नियम उल्लंघन गर्ने सवारीमाथिको कारबाहीसँगै चालक तथा सर्वसाधारणलाई निरन्तर सचेत गराइएकाले सकारात्मक परिणाम देखिएको छ।”
जेठ महिनामा ट्राफिक प्रहरीले कारबाहीको दायरा समेत विस्तार गरेको छ। वैशाखमा १० हजार ९११ सवारीमाथि कारबाही गरिएकोमा जेठमा यो संख्या बढेर १२ हजार ८०५ पुगेको छ। जनचेतनामूलक कार्यक्रमबाट लाभान्वित हुनेको संख्या पनि ५२ हजार ३५५ बाट बढेर ७७ हजार ५३ पुगेको छ। कार्यालयका अनुसार जेठ महिनामा ट्राफिक कारबाहीबाट १ करोड ४८ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। वैशाखमा भने १ करोड ६५ लाख ७६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको थियो।
कारबाहीतर्फ मापसे गर्ने १ हजार ११३ चालकबाट ६ लाख १ हजार रुपैयाँ, गलत स्थानमा पार्किङ गर्ने ५९६ सवारीबाट ४ लाख ५८ हजार ५०० रुपैयाँ, रातो बत्ती तथा ट्राफिक संकेत उल्लंघन गर्ने ५६८ सवारीबाट २ लाख ९६ हजार रुपैयाँ र लेन अनुशासन उल्लंघन गर्ने २३४ सवारीबाट १ लाख २९ हजार ५०० रुपैयाँ राजस्व उठाइएको छ। बिना लाइसेन्स सवारी चलाउने एक जनाविरुद्ध मुद्दासमेत दर्ता गरिएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्गका अनुसार रुपन्देही र कपिलवस्तुमा क्षमताभन्दा बढी भार बोक्ने २ हजार ५१४ सवारीलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो। यसबाट २५ लाख ९१ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ। विशेष अभियानअन्तर्गत ७ हजार ७९ वटा सवारीको नम्बर प्लेट मापदण्डअनुसार सुधार गराइएको छ भने स्वरूप परिवर्तन गरेका १० वटा सवारीमाथि कारबाही गरी १ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
प्रविधि तथा पूर्वाधार व्यवस्थापनतर्फ बुटवल–८ बसपार्क अगाडि सुरक्षा यात्रा नेपालसँगको सहकार्यमा एक डिजिटल सूचना बोर्ड र दुईवटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। बुटवल उपमहानगरभित्र मापदण्डविपरीत सञ्चालनमा रहेका १२२ वटा अटो, टेम्पो र ई–रिक्सा नियन्त्रणमा लिइएकामध्ये १११ वटा आवश्यक कारबाहीका लागि नगरपालिकामा पठाइएको छ भने ११ वटा होल्डमा राखिएको छ।
यसैगरी बाँके र बर्दियामा २७५ वटा सवारीको यान्त्रिक परीक्षण, १८३ जना चालकको स्वास्थ्य परीक्षण गरिएको छ। हराएका तीनवटा मोबाइल र दुईवटा झोला सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। बुटवल क्षेत्रमा १०५ वटा छाडा चौपायाको व्यवस्थापन गरिएको छ भने प्यूठानका विभिन्न घुम्तीमा नौवटा कन्भेक्स मिरर जडान गरिएको कार्यालयले जनाएको छ।
जेठ महिनामा १३५ वटा अवैध सिट हटाइएको, ६५ वटा मापदण्डविपरीतका लाइट हटाइएको, सात स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको, ८० वटा सवारीको भार मिलान गरिएको, १५ स्थानमा भाडादर टाँसिएको, पाँच स्थानमा बस पकेट निर्माण तथा पाँचवटा अवैध हर्न हटाइएको र १३५ वटा सडक अवरोध गर्ने सामग्री हटाइएको पनि कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ।