© 2026
काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या तिब्र रूपमा बढिरहेको छ। पछिल्लो दुई महिनामै १ लाख ३५ हजार ५०१ नेपालीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएका छन्। रोजगारी, आयआर्जन र उज्ज्वल भविष्यको खोजीमा दैनिक हजारौँ युवा विदेशिने क्रम जारी रहँदा स्वदेशमा दक्ष जनशक्तिको अभाव हुने चिन्ता बढ्दै गएको छ। युवा पुस्ताको ठूलो हिस्सा विदेशतर्फ आकर्षित भइरहँदा स्वदेशमै रोजगारी सिर्जना र अवसर विस्तारबारे गम्भीर प्रश्न उठिरहेका छन्।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण रेमिट्यान्स नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार बने पनि बढ्दो युवा पलायनले कृषि, उद्योग, उत्पादन तथा सामाजिक संरचनामा दीर्घकालीन असर पार्न सक्ने विश्लेषण भइरहेको छ। दुई महिनामै डेढ लाख नजिक नेपाली युवा विदेशिन तयार भएको तथ्याङ्कले नेपालमा रोजगारी संकट कति गम्भीर बन्दै गएको छ भन्ने स्पष्ट संकेत गरेको छ।