© 2026
बुटवल। इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको साइलेन्ट स्ट्रिट अभियान अन्तर्गत बिहीबार राति ७ जना युवालाई लागुऔषधसहित पक्राउ गरेको थियो। पक्राउ परेकाहरूको साथबाट गाँजालगायत लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निसान्त श्रीवास्तवका अनुसार चेकजाँचका क्रममा अन्य ८ जना युवालाई पनि नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई आवश्यक सम्झाइबुझाइपछि सोही राति छाडिएको उनले बताए।
साइलेन्ट स्ट्रिट अभियान अन्तर्गत नियमित चेकजाँचका क्रममा ७ जना युवालाई लागुऔषधसहित पक्राउ गरेका छौं। अन्य केही युवालाई सम्झाइबुझाइ गरेर छाडिएको छ। स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा आवश्यक कागजात नपुगेका ११ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएका छौं। यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीएसपी श्रीवास्तवले जानकारी दिए।
बिहीबार साँझ सञ्चालन गरिएको अभियान अन्तर्गत बुटवलको बदेलपोखरी, बेलबास, देवीनगर, कालिकापथ, अमरपथ, सख्खानगर तथा देवदहको चरङ्गे क्षेत्रसँगै पाल्पाको नुवाकोट क्षेत्रमा समेत सघन चेकजाँच गरिएको थियो। प्रहरीका अनुसार पछिल्लो समय बुटवलमा चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने प्रवृत्ति घट्दै गएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न स्वरूप परिवर्तन गरिएका मोटरसाइकल तथा चारपाङ्ग्रे सवारीमाथि निगरानी बढाइएको छ। यस्ता सवारी परिमार्जन गर्ने ग्यारेजहरूलाई समेत निगरानीमा राखी आवश्यक कारबाही गरिँदै आएको प्रहरीले जनाएको छ।