© २०२३
बुटवल, ८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउने बताएका छन् ।
पब्लिक माध्यमिक विद्यालय सियारी–४ रुपन्देहीको स्वर्ण महोत्सवको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने पनि बताए ।
दक्ष जनशक्ति र स्थानीयस्तरमा खपत हुने जनशक्ति उत्पादनका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने भन्दै मुख्यमन्त्री गिरीले समृद्धि हासिल गर्न चाहिने जनशक्ति उत्पादनमा मुख्य ध्यान दिने बताए । उनले शिक्षालाई प्राथमिकतामा राखेर बजेटको प्रवन्ध गरिने भन्दै शिक्षकहरुलाई विद्यालयको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन पनि आग्रह गरे ।
विद्यालयले स्थापनाको ५० वर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको अवसरमा बिद्यालयले माघ १२ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउने विद्यालयका प्राचार्य डिलाराख खनालले जानकारी दिए । स्वर्ण महोत्सवको अवसरमा मुख्यमन्त्री गिरीले स्वर्ण स्तम्भ, प्राविधिक भवन उदघाटन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, समरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, सियारी गाउँपालिकाका पुर्व अध्यक्ष अयोध्याप्रसाद थारुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा लोकदोहोरी गायिका सिन्धु मल्ल तथा गायक एवं संगीतकार सुदामा थापाले गीतमाफृत मनोरन्जन दिलाएका थिए भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यावारिधी हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै हाजिरजवाफ प्रतियोगिता, अनतरमावि वक्तृत्वकला प्रतियोगितामा उत्कृष्टलाई पुरस्कृत गरिएको थियो भने प्रविधि प्रदर्शनीका साथै स्मारिक विमोचन गरिएको थियो ।