© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै आन्तरिक स्रोत परिचालनमा विशेष जोड दिएको छ।
प्रस्तावित बजेटमा चालु खर्च ५२ प्रतिशत र पुँजीगत खर्च ४८ प्रतिशत रहने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा कुल बजेटको ५५ प्रतिशत पूर्वाधार विकासमा केन्द्रित गरिएको छ भने सामाजिक विकासका लागि २८ प्रतिशत, आर्थिक विकासका लागि १२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५ प्रतिशत विनियोजन गरिएको छ।
उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट मात्रै १ अर्ब ५० करोड ३८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो कुल अनुमानित आयको झण्डै ३९ प्रतिशत हो। विज्ञापन कर, मनोरञ्जन कर तथा ढुंगा–गिट्टी–बालुवा बिक्रीलगायत स्थानीय राजस्व बाँडफाँडबाट थप ७८ करोड ७७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान गरी करिब ८७ करोड रुपैयाँ प्राप्त हुने र राजस्व बाँडफाँडबाट १९ करोड ४३ लाख रुपैयाँ आउने अनुमान छ।
प्रदेश सरकारबाट विभिन्न शीर्षकमा करिब ६ करोड रुपैयाँ अनुदान तथा २ करोड ७५ लाख रुपैयाँ राजस्व बाँडफाँड प्राप्त हुने प्रक्षेपण गरिएको छ। अघिल्लो आर्थिक वर्षको मौज्दात ४० करोड रुपैयाँलाई समेत स्रोतका रूपमा समेटिएको छ।
बजेटले निजी क्षेत्रसँग सहकार्यलाई विकासको आधार बनाउने संकेत गरेको छ। ‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा समृद्धिको परिकल्पना’ नाराअन्तर्गत उद्योग, व्यवसाय र निजी क्षेत्रका संस्थासँग सहकार्य विस्तार गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
पर्यटनलाई आर्थिक विकासको नयाँ आधारका रूपमा अघि बढाउने लक्ष्यसहित बुटवललाई पर्यटकीय केन्द्रविन्दुका रूपमा विकास गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ।
यस्तै दुग्ध उत्पादन वृद्धि गर्न किसानलाई प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान दिने कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक क्षेत्रमा भने शिक्षा, समावेशिता र सीप विकासलाई प्राथमिकतामा राखिएको छ।
‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्राहरूको पहुँच विस्तार गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बुटवल उपमहानगरपालिकाले हरेक वर्ष ४० जना छात्राहरुलाई निशुल्क रुपमा प्राविधिक शिक्षा पढाउँदै आएको छ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यसामग्री हाम्रो बुटवल विद्यार्थीहरुलाई निशुल्क वितरण गर्ने भएको छ।
स्थानीय पाठ्यसामग्री ‘हाम्रो बुटवल’ संशोधन गरी सरकारी तथा निजी विद्यालयमा निःशुल्क वितरण गर्न ३५ लाख रुपैयाँ छुट्याइएको छ।
दलित समुदायका विद्यार्थीहरूले भोग्दै आएको आवास समस्यालाई सम्बोधन गर्न छात्रावास निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
साथै महिला, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किशोर–किशोरीलाई लक्षित गरी कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गर्न ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
शहरी व्यवस्थापनतर्फ फोहोरमैला संकलन र व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
नगरका प्रमुख चोक तथा सार्वजनिक स्थलमा फिल्टरसहितको शुद्ध खानेपानी र सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको छ।