© 2026
नेपालगन्ज । समाजमा अझै पनि धेरै महिलाहरू प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यका विषयमा खुलेर बोल्न हिचकिचाउँछन् ।
त्यसमा पनि अपाङ्गता भएका महिलाहरूका लागि यस्ता विषय झन् संवेदनशील मानिन्छन् । जानकारीको अभाव, सामाजिक सङ्कोच र विभिन्न गलत धारणाका कारण उनीहरू आफ्ना समस्या लुकाएर बस्न बाध्य हुने गरेका छन् । तर कोहलपुरमा आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमले यस्ता विषयमा खुलेर छलफल गर्ने वातावरण सिर्जना गरेको छ ।
बाँके अपाङ्गता महिला सङ्घको आयोजना तथा कोहलपुर नगरपालिकाको महिला, बालबालिका तथा समाजीकरण उपशाखाको सहकार्यमा सम्पन्न ‘प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्य सम्बन्धी वृहत् अभिमुखीकरण’ कार्यक्रममा अपाङ्गता भएका महिला र उनीहरूका अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका महिलाहरूलाई स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान, स्वास्थ्य अधिकार तथा व्यवहारिक सीपबारे जानकारी गराउनु थियो। दुई दिनसम्म सञ्चालन गरिएको अभिमुखीकरणमा प्रजनन स्वास्थ्य, महिनावारी व्यवस्थापन, मानसिक स्वास्थ्य, लैङ्गिक समानता तथा स्वास्थ्य अधिकारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा र अनुभव खुलस्त रूपमा राखेका थिए ।
कतिपयले मानसिक तनाव, पारिवारिक जिम्मेवारी, सामाजिक दबाब तथा आर्थिक समस्याले आफ्नो मानसिक स्वास्थ्यमा असर परेको अनुभव सुनाएका थिए । उनीहरूले यस्ता विषयमा पहिलो पटक खुलेर छलफल गर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी एक महिलाले भनिन्, “पहिले यस्ता कुरा गर्न लाज लाग्थ्यो । धेरै समस्या भए पनि मनमै राख्थ्यौँ । अहिले भने स्वास्थ्यका विषयमा खुलेर बोल्नुपर्छ भन्ने आत्मविश्वास आएको छ ।”
स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा प्रशिक्षकहरूले किशोरावस्था र वयस्क जीवनमा देखिने शारीरिक तथा मानसिक परिवर्तन, तनाव व्यवस्थापन, आत्मविश्वास विकास र सकारात्मक सोच निर्माणका विषयमा व्यवहारिक प्रशिक्षण दिएका थिए ।
सहभागीहरूले राखेका जिज्ञासाको वैज्ञानिक र व्यवहारिक उत्तर दिँदै प्रशिक्षकहरूले स्वास्थ्यसम्बन्धी विभिन्न भ्रम र गलत धारणाहरू हटाउने प्रयास गरेका थिए । कोहलपुर नगरपालिकाका प्रतिनिधिहरूले अपाङ्गता भएका महिलाहरूले प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । अहिले पनि धेरै महिला स्वास्थ्यका समस्याबारे बोल्न हिचकिचाउने प्रवृत्ति रहेकाले त्यसको अन्त्य आवश्यक रहेको उनीहरूको भनाइ छ ।
बाँके अपाङ्गता महिला सङ्घकी अध्यक्ष विनिता शर्माका अनुसार ग्रामीण तथा पिछडिएका समुदायका धेरै महिला र किशोरीहरू अझै पनि स्वास्थ्यसम्बन्धी आधारभूत जानकारीबाट वञ्चित छन्। “यस्ता कार्यक्रमले महिलाहरूलाई जानकारी मात्र दिँदैन, उनीहरूमा आत्मविश्वास पनि बढाउँछ,” उनले भनिन्, “स्वास्थ्य अधिकारबारे सचेत हुँदा महिलाहरू आफ्नो जीवनका निर्णय आफैं लिन सक्षम बन्छन् ।”
अभिमुखीकरणका क्रममा सहभागीहरूले स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । विशेष गरी किशोरीहरूलाई लक्षित गर्दै विद्यालय तथा समुदाय स्तरमा नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन् ।
आयोजक संस्थाका अनुसार अपाङ्गता भएका महिलाहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु, उनीहरूलाई समाजमा थप सशक्त बनाउनु र स्वास्थ्यसम्बन्धी जानकारीमा पहुँच बढाउनु नै कार्यक्रमको प्रमुख उद्देश्य हो । स्वास्थ्यका विषयमा खुला संवाद हुन थालेपछि सहभागी महिलाहरूमा देखिएको आत्मविश्वासले समस्या लुकाएर होइन, जानकारी र सचेतनाका माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने भन्ने सन्देश दिएको छ ।