Butwal Today

सल्यानमा पढाई मेला: सस्वर वाचन र प्रदर्शन देखि कन्टेन्ट क्रियसन सम्म

७ असार २०८३, आइतबार
अ+
अ-

सल्यान । विद्यालयमा पढाइ संस्कृतिको विकास, विद्यार्थीमा सृजनशीलता र प्रतिभाको पहिचान गर्ने उद्देश्यले सल्यानमा सञ्चालित पढाई मेला सम्पन्न भएको छ ।

शारदा नगरपालिका सल्यानको आयोजना तथा रुम टु रिड, दलित विकास समाज सल्यानको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार चौथो नगर स्तरीय पढाइ मेला सञ्चालन भएको हो । मेलामा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा खेलकुदमा नगरको गौरव बढाउने खेलाडीहरू सम्मानित भएका थिए ।

मेलामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी ३९ विद्यालयको सहभागिता रहेको थियो । शुक्रबार नै सम्पन्न पठन सिप मापन, चित्र कथा लेखन, चित्रकला, कन्टेन्ट क्रियसन तथा लोक भाषा सचेतनामूलक गीत प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले सामूहिक सस्वर वाचन गरेका थिए भने विभिन्न विद्यालयले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

मेलाको अवसरमा विद्यालयहरूले तयार गरेका शैक्षिक सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो । उत्कृष्ट शैक्षिक सामग्री प्रदर्शन गर्ने विद्यालयलाई सम्मान गरिएको थियो । साथै एसईई, कक्षा ५ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

विभिन्न प्रतियोगिता अन्तर्गत चित्र कथा प्रतियोगितामा एम.एम. एकेडेमीकी जेनिशा पुन प्रथम, त्रिभुवन जन माध्यमिक विद्यालयकी प्रेरणा रावल द्वितीय र लक्ष्मी माध्यमिक विद्यालयकी वर्षा बुढाथोकी तृतीय भएकी थिइन् । कन्टेन्ट क्रियसन प्रतियोगितामा त्रिभुवन जन माध्यमिक विद्यालयको समूह प्रथम, वासुदेव चलाउने द्वितीय र सदीक्षा शाह तृतीय भएका थिए ।

त्यसैगरी पठन सिप प्रतियोगितामा ज्योतिपुञ्ज एकेडेमीकी रोजिना थापाले एक मिनेटमा १३८ शब्द शुद्ध वाचन गर्दै प्रथम स्थान हासिल गरिन् । चित्रकला प्रतियोगितामा मोडर्न तुलसी एकेडेमीकी इशिता वली प्रथम र लोक भाषा सचेतनामूलक गीत प्रतियोगितामा मोडर्न तुलसी एकेडेमीका युवराज विक प्रथम भएका थिए ।

यसै अवसरमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शारदा नगरपालिकालाई स्वर्ण पदक दिलाउने खेलाडीहरूलाई पनि सम्मान गरिएको शिक्षा शाखा प्रमुख लिलाधर बबालले जानकारी दिए ।

मेलामा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सचिव विपिन आचार्य, शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा, प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढा, जिल्ला समन्वय अधिकारी कविन्द्र रेग्मी, सिद्धिबक्स गणका गणपति शोमनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख दीपक पातली, सशस्त्र प्रहरी नायव उपरीक्षक दीपकराज गुरुङ, प्रमुख अनुसन्धान अधिकृत चन्द्रकमल खड्का लगायत जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?