Butwal Today

कृष्णनगरमा लागु औषध दुर्व्यसन विरुद्ध सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सुरु

६ असार २०८३, शनिबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागु औषध दुर्व्यसन विरुद्ध सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

कृष्णनगर नगरपालिकाको सहकार्य र इलाका प्रहरी कार्यालय कृष्णनगरको आयोजनामा आयोजित जनचेतनामूलक कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चर्तुवेदीले विद्यालयका विद्यार्थीलाई लागु औषध विरुद्धको सचेतनामूलक पम्पलेट, स्टिकर र ब्याच हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै अतिरिक्त महानिरीक्षक चर्तुवेदीले नेपाल प्रहरीको विभागीय नीति अनुसार सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सुरु गरिएको बताए । पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा लागु औषधको प्रयोग द्रुत रूपमा बढ्दै गएकाले सबैको गम्भीरता र सहकार्य आवश्यक रहेकोमा जोड् दिए । लागु औषधको कुलतमा फसेका ५६ देखी ६२ प्रतिशत बाटै अन्य अपराध भएको भेटिएको जनाउँदै उनले ३७ प्रतिशत दुर्घटनाको कारण समेत मदिरा र लागु औषधको सेवन भएको प्रस्ट्याए ।

यसरी हुने दुर्घटनाका कारण यसै आर्थिक वर्षमा २ हजार ३ सय ५० बढीको मृत्यु भैसकेको र १० हजार बढी घाइते भएको देखिएको उनले जनाए । लागु औषधको दुर्व्यसन रोक्न बिद्यालयस्तरबाटै निगरानी  र प्रारम्भिक अवस्थाबाटै लागु पदार्थ सेवन रोकाउन सबै पक्ष सजग हुनु पर्नेमा चर्तुवेदीले जोड् दिए ।

लागु औषधको प्रयोग पछिल्लो समय विश्वको जटिल समस्याको रूपमा देखिएकाले लागु औषधको प्रयोग र ओसार पसार नियन्त्रणको विषय सबैको साझा सरोकारको विषय बन्नु पर्ने कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताए ।

लागु औषधको ओसारपसार र सेवन विरुद्ध कपिलवस्तु प्रहरी कडा रूपमा प्रस्तुत रहेको उनले जनाए । सप्ताह व्यापी जनचेतना कार्यक्रम अन्तर्गत असार ७ गते देखी १२ गते सम्मको एक साताको अवधिमा कृष्णनगरको विद्यालय, सार्वजनिक क्षेत्र, बसपार्कमा जनचेतनामूलक कार्य गरिने र समापनमा १२ गते प्रभात फेरीको आयोजना गरिएको उनले प्रस्ट्याए ।

लागु औषधको प्रयोग नियन्त्रणमा समाजका सबै पक्ष सँगै समुदायको समेत सरोकार आवश्यक रहेकोमा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जोड् दिए । लागु औषधको प्रयोग रोक्न प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत सप्ताह व्यापी जनचेतना कार्यक्रम गरिएको जनाउँदै सचेतनाले समाधान हुन नसके पुर्नस्थापनात्मक र दण्डात्मक उपायहरू आवश्यक पर्ने  निमित्त प्रजिअ घिमिरेले बताए ।

सो अवसरमा जिल्लाको अवस्था बारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले लागु औषधको दुर्व्यसनमा पर्नेहरूको पहुँचको श्रोत हेर्दा करिब ६८ प्रतिशत साथीबाट र २ प्रतिशत बढी ईन्टरनेटका कारण जोडिएको जनाए । कपिलवस्तु प्रहरीले जिल्लाको पिपरा, पकडी, चाकरचौडा, तौलिहवा, मर्यादपुर, चन्द्रौटा र कृष्णनगर गरि सात स्थानलाई हटस्पटको रूपमा भेटाएको उनले बताए ।

लागु औषध प्रयोगमा लाग्नेहरूको तथ्याङ्क हेर्दा ८० प्रतिशतहरू १५ देखी ३५ वर्ष उमेर समूहका भेटिएको उनले प्रस्ट्याए । लागु औषध प्रयोग नियन्त्रणमा अभिभावकहरू पनि सचेत बन्नु पर्ने तथा राज्यले निःशुल्क पुनर्स्थापना केन्द्रको व्यवस्थापक गर्नु पर्नेमा जलमोना लिटिल एन्जल स्कुलका प्राचार्य फिलीपले जोड् दिए ।

डिजिटल प्रविधिको प्रयोग गरि लागु औषधको दुर्व्यसनमा पर्ने घटना बढ्न थालेकाले समाजका सबै पक्षले लागु औषध प्रयोग नियन्त्रणमा सहकार्यका साथ अगाडी बढ्न आवश्यक रहेको नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले सुझाव दिए ।

जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले प्रचार प्रसारमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवाला सँग सहकार्य गरिएको प्रहरी निरीक्षक दीपक कुवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?