Butwal Today

बाल सुधार गृहको स्थलगत निरीक्षण तथा अवलोकन

५ असार २०८३, शुक्रबार
अ+
अ-

बुटवल । प्रतिनिधि  सभा कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिले रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहको स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ ।

उपसमिति संयोजक (प्रतिनिधि सभा सदस्य) नीनु कुमारी कर्ण, उपसमिति सदस्य खिमा वि.क., भूमिका श्रेष्ठ, साजिदा खातुन सिद्धिकी लगायतले बालगृहको निरीक्षण गरेका हुन् । निरीक्षणपश्चात् प्रतिनिधि सभा सदस्य साजिदा खातुन सिद्धिकीले बाल सुधार गृहको क्षमता भन्दा बढी बालकहरू राखिएको पाइएको बताए ।

उनले देशभरीका बालगृहलाई छिटो भन्दा छिटो राम्रो, सुविधा सम्पन्न र व्यवस्थित बनाउनुपर्ने बताए । सांसद सिद्धिकीले २४ घण्टा एउटै कोठामा बस्दा बालकको मनोविज्ञानमा असर पुग्ने भन्दै चिन्ता व्यक्त गरे ।

‘साँघुरो ठाउँमा धेरै बालकहरू बस्दा राम्रो हुँदैन,’ उनले भने । यहाँको अवस्थाबारे आफूले सदन र संसदीय समितिमा पनि कुरा उठाउने उनले बताए । बाल सुधार गृहलाई खाली र पर्याप्त स्थानमा स्थानान्तरण आवश्यक देखिएको उनको भनाइ छ ।

उनले देशको सबै बाल सुधार गृहमा निरीक्षण गर्न गृहमन्त्री सुधन गुरुङलाई समेत आग्रह समेत गरे । बालबालिकाले पाउनुपर्ने अधिकार राज्यले दिनुपर्ने उनले बताए । तीनै तहको सरकार, राजनीतिक दल, प्रहरी–प्रशासन, नागरिक समाज सबै लागेर बाल सुधार गृहको प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

निरीक्षणमा सहभागी सिद्धार्थनगर नगरपालिकाको प्रमुख उमा अधिकारीले यहाँको बाल सुधार गृह स्थानान्तरणको एकदमै खाँचो रहेको बताइन् । उनले बाल सुधार गृह नै सुधार्नुपर्ने आवश्यकता रहेको बताइन् ।

वि.सं. २०७५ सालमा स्थापना भएको बाल सुधार गृह, रुपन्देहीमा हाल १ सय ११ जना बाल कैदी÷थुनुवा रहेको गृहका प्रमुख वोधराज आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?