© २०२३
बुटवल, ७ माघ ।
रोटरी क्लव अफ बुटवलको १४ सय ४७ औं नियमित एवं क्लवको वर्ष २०२२÷२३ को २७ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा उद्यमी महिला मन्जु भुसाल बेलबासेको क्लासिफिकेशन रहेको थियो । त्यस अवसरमा उनले आफू बाल्यकालदेखि उद्योग क्षेत्रमा प्रवेश गर्दाको अवस्था र अहिले सफल उद्यमी बनेपछिको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।
उनले आफू विगत एक दशकदेखि उद्यमशीलतामा प्रवेश गरेको र अहिले तिलोत्तमाको शंकरनगरमा नवदुर्गा फूड एण्ड इण्डष्ट्रिज सञ्चालन गरिरहेको भन्दै उनले आफुनो उद्योगबाट उत्पादित चाउमिन र फ्रोजन मःम लुम्बिनी, वागमती र कर्णाली गरी तीनवटा प्रदेशमा निर्यात हुँदै आएको जानकारी दिइन् ।
उद्यमी भुसालले अहिले आफूले ग्रीनहाउस कस्मेटिक पनि सञ्चालन गर्दै आएको जानकारी दिंदै आफूले करिव एकसय जनालाई रोजगारी प्रदान गरिरहेको बताइन्ु ।
बैठकमा रोटरीयन मधुप्रकाश अर्यालले महिलाका लागि उद्यम सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण भएपनि सफलता हासिल गरेकोमा प्रशंसा गरेका थिए । बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु दया भण्डारी, कृष्ण पराजुलीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।