Butwal Today

देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द

२ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ ।

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो ।

विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने प्रावधानअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो ।

यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन् ।

विभागका अनुसार ऐनको दफा ११ को उपदफा (५) ले तोकिएको समयसीमाभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था छ। त्यस्ता प्रमाणपत्रको अवस्थाबारे सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई जानकारी गराउने दायित्वसमेत कानुनले निर्धारण गरेको छ।

सोही कानुनी व्यवस्थाअनुसार विभागबाट जारी भएका औषधि पसल सञ्चालनसम्बन्धी प्रमाणपत्रहरूमध्ये निर्धारित अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरणको म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र अनुसूची–९ बमोजिम स्वतः खारेज भएको विभागले जनाएको छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यका अनुसार नेपालभर २६ हजार औषधि पसल दर्ता भएका छन्। ‘नेपालभर २६ हजार औषधि पसल दर्ता भएका छन्,’ सुचना अधिकारी बज्राचार्यले भने – ‘तीमध्ये नवीकरण नगर्ने ५ हजारको दर्ता प्रमाणपत्र स्वत रद्द हुँदै छ।’

विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरेको छ। साथै औषधि बिक्री–वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?