© 2026
अर्घाखाँची । अर्घाखाँची जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सन्धिखर्कमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोइराला र सदस्य सचिव कृष्णप्रसाद पोख्रेललाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। प्रमाणपत्र प्रदानसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।
अर्घाखाँची जिल्लालाई २०७१ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारको नियम अनुसार प्रत्येक वर्ष स्थानीय तह हुँदै जिल्ला सुनिश्चितता घोषणा गरिन्छ । कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले खोप कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा सफल अभियानमध्ये एक भएको उल्लेख गरे। उनले खोपले बालबालिकालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्नुका साथै स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
मन्त्री घिमिरेले स्वास्थ्य सेवामा पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण र रोग नियन्त्रणका क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पूर्ण खोप सुनिश्चितता घोषणा जिल्लावासीका लागि गौरवको विषय भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा नागरिकको साझा प्रयासको परिणाम भएको उल्लेख गरे।
नगर प्रमुख श्रेष्ठले स्वस्थ नागरिक नै समृद्ध समाज निर्माणको आधार भएको भन्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, जनचेतना विस्तार तथा बालबालिकाको नियमित स्वास्थ्य परीक्षणमा विशेष जोड दिइने बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यका सूचक सुधार गर्न सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबिचको समन्वय प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन तथा विभिन्न रोगहरूको जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
नेकपाका जिल्ला अध्यक्ष रामबहादुर चौहान, सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, महिला स्वास्थ्य स्वयंसेविका उमा बन्जाडे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोइरालाको अध्यक्षता र जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेकपाका जिल्ला अध्यक्ष रामबहादुर चौहान, सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली र महिला स्वास्थ्य स्वयंसेविका उमा बन्जाडेलगायतले कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोइरालाको सभापतित्वमा जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले सञ्चालन गरेका थिए
।