© 2026
सिद्धार्थनगर । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिक तथा पर्यटकहरूको गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन ‘विदेशी नागरिक व्यवस्था सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको छ ।
सोमबार विभागले भैरहवामा सरोकारवालाहरूसँग ‘विदेशी नागरिक व्यवस्था सूचना प्रणाली अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।
कालिकास्थानस्थित अध्यागमन विभागको आयोजनामा भएको उक्त कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल प्रवेश गर्ने विदेशी नागरिक र पर्यटकहरूको देश भित्रको गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखित गर्न यो अभियान सुरु गरिएको जानकारी दिए ।
नेपाल भ्रमणमा आउने विदेशी नागरिक तथा पर्यटकहरूको देशभित्रको गतिविधि अभिलेख राख्दा उनीहरूको सुरक्षा सुनिश्चित गर्न, आवश्यक पर्दा सहज रूपमा सेवा उपलब्ध गराउन तथा राष्ट्रिय सुरक्षाको दृष्टिकोणले समेत महत्त्वपूर्ण सहयोग पुग्नेछ । तिवारी बताउँछन् ।
महानिर्देशक तिवारीले पर्यटकलाई सेवा प्रदान गर्ने होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत सबै सम्बन्धित संस्थाहरूलाई उक्त प्रणालीमा आबद्ध गराउने उद्देश्यले देशभर अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको बताए ।
कार्यक्रममा सुरुवाती चरणमा सम्बन्धित संस्था तथा व्यवसायीहरूलाई स्वैच्छिक रूपमा प्रणालीमा जोडिन आग्रह गरिएको आयोजकको भनाइ छ ।
प्रणाली सञ्चालनका क्रममा प्राविधिक समस्या आएमा विभागले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी दिनमा यस प्रणालीलाई कानुनी रूपमा अनिवार्य बनाउने योजना रहेको विभागले जनाएको छ ।
हालका लागि होमस्टेभन्दा होटलहरूलाई प्राथमिकतामा राखेर प्रणालीमा आबद्ध गराउने कार्य अघि बढाइएको छ । क्रमशः हवाई सेवा कम्पनी, पर्यटक बस सेवा, टुर अपरेटर तथा मनी चेन्जरजस्ता पर्यटकसँग प्रत्यक्ष सम्पर्कमा रहने सबै क्षेत्रलाई पनि यस प्रणालीमा समेटिने विभागले जनाएको छ ।
अध्यागमन विभागका अनुसार सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनले विदेशी नागरिकको व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।