© 2026
गुल्मी । गुल्मी जिल्लाका दुर्गम ग्रामीण क्षेत्रका नागरिकहरू अझै पनि रोग लुकाएर बस्न बाध्य छन् । आर्थिक अभाव, यातायातको असुविधा र गाउँमा विशेषज्ञ चिकित्सकको अभावका कारण धेरै नागरिकहरू रोग लागेको थाहा नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतामा छन् ।
उक्त अवस्थाको अन्त्य गर्नका लागि गुल्मीको चन्द्रकोट गाउँपालिका–२ बिशूखर्कमा मासिक रूपमा सञ्चालन हुँदै आएको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर यतिबेला विपन्न नागरिकका लागि आशाको केन्द्र बनेको छ ।
वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरी सञ्चालन गरिँदै आएको उक्त शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्दै आएका छन् ।
गत आर्थिक वर्षको असोज महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिबार शिविर सञ्चालन हुँदै आएको छ । बिशूखर्क भिरखानीकी पुतली विक लामो समयदेखि हातखुट्टा दुख्ने समस्याबाट पीडित थिइन् ।
उपचारका लागि सहर पुग्ने समय र आर्थिक क्षमता दुवै अभावका कारण उनले समस्या सहेरै बस्नुपरेको थियो । गाउँमै विशेषज्ञ चिकित्सक आएर स्वास्थ्य परीक्षण गरी औषधी उपलब्ध गराएपछि आफूले ठुलो राहत महसुस गरेको उनी बताउँछिन् । सहर पुगेर जाँच गराउने फुर्सद र सुविधा थिएन, गाउँमै डाक्टर आएर उपचार पाएपछि धेरै सहज भएको छ,” विकले भनिन् ।
सोही वडाका भानुभक्त गौतम पनि छाती दुख्ने समस्याबाट पीडित थिए । उपचारका लागि बुटवलसम्म पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा घर नजिकै विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा आफू अत्यन्त खुसी भएको उनले बताए । “यस्तो कार्यक्रमले गाउँका धेरै नागरिकलाई राहत दिएको छ, वडाले यसलाई निरन्तरता दिनुपर्छ,” गौतमले भने ।
विकट गाउँबाट सहर झरेर उपचार गर्न नसक्ने नागरिकलाई लक्षित गरी वडा कार्यालयले मासिक रूपमा विशेषज्ञ चिकित्सक गाउँमै ल्याउने व्यवस्था गरेको चन्द्रकोट गाउँपालिका–२ का वडाध्यक्ष कमल केसीले बताए । उनले आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न कारणले उपचार सेवाबाट वञ्चित नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
“गाउँमै विशेषज्ञ चिकित्सक भेट्ने सम्भावना न्यून छ । धेरै नागरिक आर्थिक अभावका कारण रोग लुकाएर बस्न बाध्य छन् । उनीहरूकै सेवाका लागि हामीले मासिक रूपमा विशेषज्ञ चिकित्सक गाउँ ल्याउने गरेका छौँ,” केसीले भने । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनमा वार्षिक सात लाख रूपैयाँ भन्दा बढी खर्च हुने गरेको बताइएको छ । “नागरिकको स्वास्थ्यभन्दा ठुलो कुरा केही हुँदैन, त्यसैले यो कार्यक्रमलाई निरन्तरता दिन्छौँ,” उनले भने । वडाध्यक्ष केसीले स्वास्थ्य सेवाका लागि आफूले व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएको बताए ।
शिविरमा हाडजोर्नी, नसा तथा हाडजोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल तथा मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, छाती तथा मुटुरोग विशेषज्ञ डा.कपिल गौतमले सेवा प्रदान गरेका छन् । स्वास्थ्य चौकीका प्रमुख राज आर्यन साहका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शका साथै प्रयोगशाला सेवा, भिडियो एक्स–रे, इसिजी तथा आवश्यक औषधि वितरण गरिँदै आएको छ ।
असोज महिनादेखि हालसम्म स्त्रीरोग, नेत्ररोग, नाक–कान–घाँटी, हाडजोर्नी तथा अन्य विशेषज्ञ सेवा मार्फत ५०४ महिला र ३१३ पुरुष गरी ८१७ जनाले सेवा लिइसकेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेतले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी भएको बताए । “अझै पनि ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच सहज छैन । घर–आँगनमै पुगेर सेवा दिने यस्ता शिविरहरूले ग्रामिण भेगका नागरिकका लागि ठुलो राहत पुग्छ,” उनले भने ।
स्वास्थ्य शिविर सञ्चालनमा समन्वय र सहयोग गर्दै आएका युवा व्यवसायी भरतजंग क्षेत्रीले बिशुखर्कमा सञ्चालन भइरहेको कार्यक्रम देशभरका स्थानीय तहका लागि उदाहरणीय रहेको बताए । “महिनैपिच्छे गाउँमै विशेषज्ञ चिकित्सक पु¥याएर निःशुल्क स्वास्थ्य सेवा दिनु अत्यन्त प्रशंसनीय कार्य हो । यस्ता कार्यक्रम अन्य गाउँमा पनि आवश्यक छन्,” उनले भने ।
ग्रामीण बस्तीबाट युवापुस्ता रोजगारी र सुविधाको खोजीमा सहरतर्फ पलायन भइरहेका बेला गाउँमै बसेर जीवन धानिरहेका विपन्न नागरिकका लागि स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण विषय बनेको छ ।
गाउँका नागरिकलाई उपचारका लागि सहर धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै चन्द्रकोट गाउँपालिका वडा नं –२ ले मासिक सञ्चालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरले स्थानीय सरकार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नागरिकको घरदैलोमै पुग्छ भन्ने गतिलो सन्देश समेत दिएको छ ।