© 2026
गुल्मी । सरकारी अनुदानमा सञ्चालित बाख्रा प्रवर्द्धन कार्यक्रमले गुल्मीका कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्नुका साथै उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुगेको पाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा बाली वस्तु विशेष बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था मार्फत लाभान्वित कृषकका फर्महरूको शनिबार संयुक्त अनुगमन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको संयोजकत्वमा भएको अनुगमनको क्रममा कृषकले पूर्वाधार, प्रविधि तथा प्राविधिक सेवा प्राप्त गरी बाख्रा पालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउँदै लगेको पाइएको छ ।
कार्यालय मार्फत सहकारीमा आबद्ध १४ जना कृषकका बाख्राको खोर निर्माण तथा सुधार गरिएको छ । प्रजनन सुधारका लागि चार वटा उन्नत जातका ब्याडबोका खरिद गरिएको छ भने कृषकहरूलाई कम्बाइन मिल र च्यापकटर समेत वितरण गरिएको छ ।
यस्तै बाह्य तथा आन्तरिक परजीवी नियन्त्रण, बाख्रा पालन सम्बन्धी तालिम, घाँसको बीउ तथा बिरुवा खरिद र वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्राविधिक सहायक रिमबहादुर रोकायले जानकारी दिएका छन् ।
कुल १५ लाख २९ हजार रुपैयाँ लागत रहेको उक्त कार्यक्रमका लागि कार्यालयबाट आठ लाख अनुदान उपलब्ध गराएको छ भने अन्य सात लाख २९ हजार रुपैयाँ कृषक र सहकारीको साझेदारी रहेको छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सरकारी लगानीबाट सञ्चालन हुने कार्यक्रम परिणाममुखी हुनुपर्ने बताए । उनले वास्तविक कृषकसम्म सेवा पुगेर उत्पादन र आम्दानी वृद्धि हुन सके मात्र कार्यक्रमको उद्देश्य पूरा हुने बताएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बाख्रा पालनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार, प्रविधि र प्राविधिक सेवासँग कृषकलाई जोड्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताएका थिए ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्त्यालले कार्यक्रमबाट सहकारीमा आबद्ध कृषकको उत्पादनमा वृद्धि हुनुका साथै व्यवसाय विस्तारमा सकारात्मक प्रभाव परेको बताए ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रे, प्रमुख कोष नियन्त्रक महेन्द्रप्रसाद भण्डारी, कृषि ज्ञान केन्द्रका प्रतिनिधि नवराज घिमिरे, वडाध्यक्ष शंकर रायमाझी लगायत सरोकारवाला कार्यालय तथा संस्थाहरूको प्रतिनिधित्व रहेको थियो ।