© 2026
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्रका असल बुहारीहरूलाई सम्मान गरेको छ ।
सासू–ससुरा तथा ज्येष्ठ नागरिकहरूको समर्पित रूपमा स्याहार–सुसार गर्दै आएका बुहारीहरूलाई सम्मान गरेपछि उनीहरू पनि खुसी भएका छन् ।
नगरपालिकाका १२ वटै वडाबाट छनोट गरिएका ८५ देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको नियमित रूपमा हेरचाह गर्ने ८० जना बुहारीलाई एक कार्यक्रमका बिच सम्मान गरिएको नगरपालिकाकी सहायक महिला विकास अधिकृत पुष्पा भुसालले जानकारी दिइन् ।
पछिल्लो समय वृद्ध बाबुआमाको स्याहार–सुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू–ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले यस्ता महिलाहरूको आत्मसम्मान र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।
नगर उपप्रमुख मिश्रा आचार्यले पछिल्लो समय वृद्ध वृद्धाको हेरचाह गर्ने संस्कार हराउँदै गएको सन्दर्भमा ‘उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम’ अन्तर्गत ८० जना बुहारीलाई सम्मान गरिएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वृद्ध वृद्धालाई वृद्धाश्रममा होइन, आफ्नै घरपरिवारमा माया, सम्मान र उचित हेरचाहका साथ राख्नुपर्नेमा जोड दिए । सबै छोरा–बुहारीले आफ्ना बाबुआमा तथा सासू–ससुराको स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारका अनुसार वृद्ध वृद्धाको दैनिक हेरचाह, दिसा पिसाब गराउने, खानपानको व्यवस्था मिलाउने, समयमै औषधि खुवाउने तथा आवश्यक स्याहार–सुसार गर्ने बुहारीहरूलाई वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरी करुवा, खादा तथा यातायात खर्चसहित सम्मान गरिएको हो ।
कार्यक्रम नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी पुष्पा भुसालले गरेकी थिइन् ।