© 2026
पाल्पा । रामपुर नगरपालिकाले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान गरेको छ ।
किशोरी तथा बालिकासँग उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका निजी तथा सामुदायिक ६ वटा विद्यालयमा सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले वडा नं.३ को जनविकास माध्यमिक विद्यालय र रजघरा इङ्गिलस बोर्डिङ स्कुल रजघरा, वडा नं. ५ को भुपू सैनिक राईजिङ इङ्गिलस बोर्डिङ स्कल मटेरी र रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय , वडा नं. ७ को आनन्द निकेतन विद्याश्रम र वडा नं. ८ को गंगा माध्यमिक विद्यालय एक्लेटारमा सचेतना कार्यक्रम गरेको हो ।
अभियान अन्तर्गत रजघरामा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले रामपुर नगरपालिकालाई यही २०८३ साल मङ्सिर ५ गते भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन ।
यसका लागि उपप्रमुखसँग बालिका कार्यक्रमलाई पनि बाल विवाह र आत्महत्या सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको जानकारी दिइन् । उनले पछिल्लो समय बालविवाह र बालबालिकाको आत्महत्याका घटना बढ्दो रूपमा रहेकाले यसको रोकथाम र न्यूनीकरणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गरिन ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले बाल विवाह रोक्नका लागि बालबालिका र विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने बताए । साथै समाजमा हुन सक्ने यस्ता घटनालाई रोकथाम गर्नका लागि समाजलाई सु–सूचित गर्नु पर्नेमा जोड दिए ।
यस्तै रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बाल विवाहले सामाजिक , शारीरिक, आर्थिक रूपमा असर पु¥याउने भन्दै बाल विवाह गर्न कानुनले समेत वर्जित गरेको बताइन् ।
यसै गरी इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बाल विवाहबाट निम्तिन सक्ने जोखिम, कानुनी प्रावधान, आत्महत्या रोकथामका उपाय लगायतका विषयमा सहजीकरण गरेका थिए ।
बालबालिकालाई आत्महत्या र बालविवाह सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको महिला बालबालिका शाखा प्रमुख तथा बाल कल्याण अधिकारी पूजा परियारले बताइन् ।