© 2026
लमही । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि भूमिका खेलेको आरोपमा दाङमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि गैर कानुनी रूपमा कागजात प्रदान गरेको भन्दै प्रहरीले राजपुर गाउँपालिका–४ का वडाध्यक्ष ६५ वर्षीय रामेश्वर अहिरसहित वडा सचिव कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–९ निवासी ४७ वर्षीय राजेशकुमार कहर, राजपुर–४ निवासी कार्यालय सहायक ३४ वर्षीया मीना चौधरी र नागरिकता प्राप्त गर्ने ४५ वर्षीय भारतीय नागरिक आलम जोल्दालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक डबलबहादुर बमले पक्राउ परेका चार जनालाई सोमबार जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक बमका अनुसार पक्राउ परेका चार जनासहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाकाविरुद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
चार जना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भएकी आयशा जोल्दा भने पक्राउ परेका छैनन् । प्रहरी निरीक्षक बमका अनुसार उनीहरूको पनि खोजी कार्य भइरहेको छ । पक्राउ परेका वडाध्यक्ष अहिरलगायतलाई भारतीय नागरिक आलम जोल्दालाई वंशजको आधारमा नागरिकता प्राप्त गर्न वडा कार्यालयबाट कागजात बनाउन भूमिका खेलेको आरोप छ ।
जोल्दाले २०७५ कात्तिक २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट बुवा सुनाउल्ला जोल्दाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए ।
जोल्दाले प्राप्त गरेको नागरिकतामा तत्कालीन इलाका प्रशासन कार्यालय प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर रहेको छ । गैर कानुनी रूपमा भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले नेपाल प्रहरीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।
सोही आधारमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेर घटना बारेमा अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक बमले जानकारी दिएका छन् ।