Butwal Today

लान्तीमा गुञ्जियो महिलाले बजाएको नौमती

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

सल्यान ।  सल्यानका महिलाहरूले परम्परागत र मौलिक नौमती बाजा बजाउने आधारभूत सीप हासिल गर्दै बाजासहितको सांस्कृतिक प्रस्तुति दिएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ का महिलाहरूले १० दिने नौमती बाजा तालिम प्राप्त गर्दै समापन समारोहको अवसरमा लान्तीमा झ्याउरे र ख्याली तालका लोक भाकाहरू प्रस्तुत गरेका हुन् ।

गत जेठ १६ गतेदेखि सुरु भएको आधारभूत नौमती बाजा तालिमको सोमबार औपचारिक समापन तथा बाजा प्रदर्शन गरिएको थियो । सिन्धुली कला घरका ख्यातिप्राप्त प्रशिक्षकद्वय पवित्रा रम्तेल र रिता विश्वकर्माले वडा नं. ६ का १० जना स्थानीय महिलाहरूलाई सघन प्रशिक्षण प्रदान गरेका थिए ।

परम्परागत रूपमा पुरुषहरूले मात्र बजाउँदै आएको र पछिल्लो समय लोप हुन लागेको नौमती बाजा महिलाहरूलाई सिकाएर सांस्कृतिक रूपमा सक्षम बनाउँदै मौलिक कलाको जगेर्ना गर्न वडाले तालिमको आयोजना गरेको वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढाले जानकारी दिए ।

समापन समारोहमा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले महिलाहरूले बाजा बजाएको देख्दा पालिकाकै गौरव बढेको बताए ।  यो कलालाई मर्न नदिन र महिला बाजा समूहलाई निरन्तरता दिन गाउँपालिकाले आगामी दिनमा सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले नौमाति बाजा बजाउने सीपलाई व्यावसायिकतासँग जोड्नुपर्नेमा जोड दिए ।
सो अवसरमा विद्यालय तहको सामाजिक विषयको पाठ्यक्रममा मौलिक बाजासम्बन्धी पाठ समावेश रहेकाले त्रिज मावि भोटेचौरका विद्यार्थीलाई समेत समारोहमा सहभागी गराई नौमती बाजाबारे प्रत्यक्ष जानकारी गराइएको थियो ।

वद्यालयका सहायक प्रधानाध्यापक नेत्रलाल भट्टराईले नौमती बाजाबारे विद्यार्थीले प्रत्यक्ष हेरेर र सुनेर बुझ्न पाएको भन्दै यस किसिमको प्रत्यक्ष प्रदर्शनले व्यावहारिक सिकाइमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी स्थानीय महिला नविना विष्टले आफ्नो अनुभव सुनाउँदै सुरुमा सिक्न सकिदैनकी भन्ने डर रहे पनि महिला प्रशिक्षकहरूको हौसला र सजिलो शिक्षण विधिको कारण बाजा बजाउन सकिएको बताइन् । प्रशिक्षक पवित्रा रम्तेलले छोटो अवधिमै सहभागिहरूले बाजा समाउने सही आसन, ध्वनि निकाल्ने र सामूहिक तालमेल मिलाउने कुरामा लोभलाग्दो प्रगति गरेको बताइन् ।

यसैबिच छत्रेश्वरी नौमती बाजा महिला समूह गठन गरिएको छ । सुनिता बुढाथोकी गिरी अध्यक्ष, कालिका योगी उपाध्यक्ष, सुश्मा चन्द ठकुरी सचिव, नविना विष्ट सहसचिव, सम्झना भण्डारी कोषाध्यक्ष र अरू तालिमप्राप्त महिलाहरू सदस्य रहेको समिति गठन गरिएको हो ।

सिकेको आधारभूत सीपलाई मर्न नदिन, नियमित अभ्यासलाई निरन्तरता दिन तथा स्थानीय स्तरमा हुने मेला, उत्सव, विवाह तथा सांस्कृतिक कार्यक्रमहरूमा व्यावसायिक रूपमा प्रस्तुत गरी महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि समूह गठन गरिएको वडा सचिव संगिता डिसीले जानकारी दिइन् ।

परम्परागत रूपमा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरहरूमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षहरूमा घट्दै गएको छ ।

आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावसँगै मौलिकता संकटमा पर्दै गएको बेला महिलाहरूलाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप वडा कार्यालयले नौमती बाजा बजाउने सीप सम्बन्न्धी तालिम प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?