Butwal Today

विदेश अध्ययनका लागि ५ प्रतिशत बढी विदेशी मुद्रा पठाउन पाइने

२६ जेष्ठ २०८३, मंगलवार
अ+
अ-
काठमाडौँ । वैदेशिक अध्ययनका लागि आवश्यक बैङ्क ब्यालेन्स देखाउने व्यवस्थामा नेपाल राष्ट्र बैङ्कले थप सहजीकरण गरेको छ ।
केन्द्रीय बैङ्कले विदेशका शैक्षिक संस्थामा अध्ययन गर्न जाने विद्यार्थीका लागि खातामा देखाउनुपर्ने विदेशी मुद्राको रकम तोकिएको सीमाभन्दा ५ प्रतिशतसम्म बढी राख्न अनुमति दिएको हो ।
विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैङ्कले भारतबाहेक अन्य मुलुकमा अध्ययनका लागि उपलब्ध गराइने सटही सुविधालाई थप लचिलो बनाएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति, नवीकरण तथा निर्वाह खर्चका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले आवश्यक ठहर गरेमा विद्यार्थीको नाममा रहेको खातामा तोकिएको रकमभन्दा ५ प्रतिशतसम्म बढी विदेशी मुद्रा राख्न सकिनेछ ।
त्यस्तै, राष्ट्र बैङ्कले तोकेको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपर्ने स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने व्यवस्था रहेको पुष्टि हुने कागजातका आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।
सटही उपलब्ध गराउँदा विनिमय दरमा हुने उतारचढावका कारण अतिरिक्त खर्चको यकिन गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै पठाउनुपर्ने रकममा बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको छ ।
विद्यार्थीले निर्वाह खर्चका लागि २ हजार ५ सयदेखि ५ हजार अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तो रकम नेपालबाट अभिभावकले विद्यार्थीलाई पठाउन सक्नेछन् । साथै, अन्य शुल्कका हकमा आवश्यक प्रमाणित कागजातका आधारमा अनुमति दिइने राष्ट्र बैङ्कले जनाएको छ ।
यसै गरी, एकीकृत परिपत्र–२०८२ अनुसार पेस गर्नुपर्ने कागजात सक्कल हुनुपर्ने व्यवस्था रहे पनि विद्युतीय कारोबार ऐन, २०६३ तथा सो ऐनअन्तर्गत बनेका नियमबमोजिम डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएका कागजातलाई समेत मान्यता दिने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कको यो निर्णयले वैदेशिक अध्ययनका लागि आवश्यक वित्तीय प्रक्रिया सहज बनाउनुका साथै विद्यार्थी र अभिभावकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?