Butwal Today

रामपुरमा ज्येष्ठ नागरिक सम्मानित

२६ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं.९ मा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक सङ्घ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो । समितिले वडा भित्रका ७५ वर्ष माथिका ८३ जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला, खाद्यवस्तु र सरसफाइका सामग्री सहित सम्मान गरेको छ ।

रामपुर नगरपालिका वडा नं. ९ को ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ आर्थिक सहयोगमा सम्मान गरेको हो ।ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर रानाले ज्येष्ठ नागरिकहरू ज्ञान, संस्कार र अनुभवको खानी भएको बताए । उनले ज्येष्ठ नागरिकहरूको संरक्षण सँगै अधिकारका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।

रानाले वडाले ज्येष्ठ नागरिकहरूको लागि वडाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा पनि ज्येष्ठ नागरिकहरूको सहजता र सुविधाका लागि काम गर्ने बताए ।

साथै ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै खानपान र स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । यस्तै ज्येष्ठ नागरिक सङ्घ रामपुरका अध्यक्ष कृष्ण प्रसाद अर्यालले पछिल्लो समय केही ज्येष्ठ नागरिकहरू अवहेलनामा पर्दै गएको भन्दै अधिकार संरक्षणका लागि सबैले ध्यान दिन आवश्यक रहेको बताए । उनले समग्र रामपुर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरूलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिकहरूको सरल जीवनयापनका लागि सन्तान र संरक्षकले ध्यान पु¥याउनु पर्ने बताए । रामपुर ९ को वडा कार्यालय भवन जप्गादीमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पाल्पाका सदस्य केशवराज पङ्गेनीले ज्येष्ठ नागरिकको अधिकारका लागि सङ्गठित भएर लागेको भन्दै अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्न ज्येष्ठ नागरिक सङ्घ साथमा रहेको बताए ।

यस्तै ज्येष्ठ नागरिक सङ्घ रामपुर ९ का अध्यक्ष मोहनलाल खनालले ज्येष्ठ नागरिकहरूप्रति स्थानीय सरकारले देखाएको चासो र प्राथमिकताप्रति आभार प्रकट गरे । ज्येष्ठ नागरिकहरूलाई खुसी र हौसला प्रदान गर्नका लागि सम्मान गरिएको वडा नं. ९ का स्थानीय पञ्जिकाधिकारी एवं रामपुर नगरपालिका राजश्व शाखा प्रमुख चिन्तामणि भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?