© 2026
अर्घाखाँची । अर्घाखाँचीका विभिन्न सामुदायिक वन क्षेत्रमा प्रकृतिमैत्री बहु उपयोगी रिचार्ज पोखरी निर्माण गरिएको छ । वरिपरि घना जङ्गल छ । तर नजिक कतै पानीको मुहान छैन ।
गर्मी याम सुरु भएसँगै वन क्षेत्र सुख्खा बन्छ, वन्यजन्तु पानीको खोजीमा बस्ती नजिक पुग्न बाध्य हुन्छन् । वन डढेलो लागेपछि आगो नियन्त्रण गर्न पानीको अभावले थप समस्या सिर्जना गर्छ । यिनै चुनौतीलाई सामना गर्न विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण पोखरी निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लाभर वन क्षेत्रमा पानीको उपलब्धता बढाउने, वन डढेलो नियन्त्रणमा सहयोग पु¥याउने, भू–जल पुनर्भरण गर्ने तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरेको छ ।
वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा हालसम्म १६ वटा पुनर्भरण तथा बहु उपयोगी पोखरी निर्माण भइसकेका छन् । “पानीको स्रोत नभएका सुख्खा वन क्षेत्रमा वन्यजन्तुलाई पानी उपलब्ध गराउने, डढेलो नियन्त्रणका लागि आवश्यक पानीको जोहो गर्ने तथा भू–जल पुनर्भरण बढाउने उद्देश्यले प्रकृतिमैत्री पोखरी निर्माण अभियान सञ्चालन गरिएको हो,” खड्काले भने, “यी पोखरीले वन संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेका छौँ ।”
डिभिजन वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहहरूसँगको सहकार्यमा सन्धिखर्क नगरपालिकामा सात, भूमिकास्थान नगरपालिकामा तीन र पाणिनी गाउँपालिकामा दुई गरी १२ वटा पोखरी निर्माण गरेको छ ।
डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र पुनरुत्थान परियोजनाको आर्थिक सहयोगमा सामुदायिक वन समुहले शितगंगा नगरपालिकाका विभिन्न वन क्षेत्रमा चार वटा प्रकृतिमैत्री पोखरी निर्माण भएका छन् । जिल्लाभर निर्माण गरिएका पुनर्भरण पोखरीको संख्या १६ पुगेको वन कार्यालयले जनाएको छ ।
वन विज्ञहरूका अनुसार यस्ता पुनर्भरण पोखरीले वर्षायाममा संकलित पानीलाई जमिनभित्र पुनर्भरण गर्न मद्दत गर्छन् । यसबाट भू–जलको सतह बढ्नुका साथै आसपासका मुहान, कुवा तथा साना जलस्रोतहरूको संरक्षणमा समेत सहयोग पुग्छ । जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको अवस्थामा यस्ता संरचनाले दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताएका छन् ।
यी पोखरीहरू केवल पानी संकलन गर्ने संरचना मात्र होइनन् । वन क्षेत्रमा पानीको अभाव हुने समयमा वन्यजन्तुका लागि बहु उपयोगी हुने छन् । गर्मीयाममा जंगली जनावरहरू पानीको खोजीमा बस्ती प्रवेश गर्दा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने सम्भावना रहन्छ । वनभित्रै पानी उपलब्ध भएपछि त्यस्ता समस्या कम हुने विश्वास गरिएको छ ।
वन्यजन्तु तथा वन संरक्षणलाई केन्द्रमा राखेर पोखरी निर्माण गरिएको शितगंगा नगरपालिका–११ स्थित गैडे सामुदायिक वन उपभोक्ता समूहकी सचिव सीता बेल्वासेले बताइन् । “वन डढेलो व्यवस्थापनमा पानी आवश्यक पर्ने, वन्यजन्तु तथा घरपालुवा जनावरलाई सुख्खा समयमा पानीको व्यवस्था होस् भनेर प्रकृतिमैत्री तथा वन्यजन्तुमैत्री पोखरी निर्माण गरेका हौँ,” उनले भनिन्, “यी पोखरी बहु उपयोगी छन् । स्थानीय स्तरमै पाइने ढुंगा, माटो र अन्य सामग्री प्रयोग गरेर निर्माण गरेका छौ ।”
वन डढेलो अर्घाखाँचीका वन क्षेत्रको प्रमुख चुनौतीमध्ये एक हो । प्रत्येक वर्ष सुख्खा मौसममा लाग्ने डढेलोले हजारौँ हेक्टर वन क्षेत्र प्रभावित हुने गरेको छ । डढेलो नियन्त्रणका लागि पानीको उपलब्धता नहुँदा सुरक्षाकर्मी, वन कर्मचारी तथा स्थानीय समुदायले ठूलो कठिनाइ भोग्नुपर्ने अवस्था रहँदै आएको थियो । यस्ता पोखरी वन डढेलो नियन्त्रणमा अत्यन्त उपयोगी सावित हुने शितगंगा नगरपालिका–१३ स्थित धिरेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलले बताए ।
पहिले वन संरक्षणलाई केवल रुख रोप्ने वा वन हेरचाह गर्ने कार्यका रूपमा बुझ्ने गरिन्थ्यो । अहिले पानी संरक्षण, जैविक विविधताको संरक्षण र जलवायु अनुकूलनका गतिविधिहरू पनि वन व्यवस्थापनका महत्त्वपूर्ण पक्षका रूपमा स्थापित हुन थालेका छन् ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले आगामी वर्षहरूमा समेत यस्ता संरचनाको विस्तार गर्ने योजना बनाएको जनाएको छ । वन क्षेत्रमा पानीको उपलब्धता बढाउँदै डढेलोको जोखिम न्यूनीकरण, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्यलाई अझ सुदृढ बनाइने वरिष्ठ वन अधिकृत चन्द्रबहादुर भाटले जानकारी दिए ।
प्रकृतिसँग मेल खाने गरी निर्माण गरिएका यी बहु उपयोगी रिचार्ज पोखरी अहिले अर्घाखाँचीका वन क्षेत्रका लागि केवल पानीको स्रोत मात्र बनेका छैनन्, वन संरक्षण, डढेलो व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका प्रभावकारी माध्यमका रूपमा पनि स्थापित हुँदै गएका छन् । वनभित्रका यी साना जलाशयहरूले भविष्यमा हरियाली जोगाउने, वन्यजन्तुको जीवन बचाउने र वातावरण संरक्षणको अभियानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
वन विज्ञहरूका अनुसार जलवायु परिवर्तनको प्रभाव दिनानुदिन तीव्र हुँदै गइरहेको सन्दर्भमा अर्घाखाँचीको यो अभियान अन्य जिल्लाका लागि पनि अनुकरणीय नमुना बन्न सक्छ । सामुदायिक सहभागिता, स्थानीय स्रोतसाधन र सरकारी प्राविधिक सहयोगको यो त्रिकोणात्मक साझेदारी वन संरक्षणको दिगो मार्गका रूपमा स्थापित हुँदै गएको छ ।
डिभिजन वन कार्यालयका अनुसार आगामी आर्थिक वर्षमा थप पोखरी निर्माणको लक्ष्य राखिएको छ । यसरी चरणबद्ध रूपमा विस्तार हुँदै गएका यी संरचनाहरूले अर्घाखाँचीका वन क्षेत्रलाई थप हरियो, थप जीवन्त र थप सुरक्षित बनाउने दिशामा महत्त्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।