Butwal Today

सुन्तला खेती बन्दै किसानको ‘जीवनभरको पेन्सन’

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-

पाल्पा । पाल्पामा सुन्तला खेती विस्तारसँगै नर्सरी व्यवसायप्रति कृषकहरूको आकर्षण बढ्दै गएको छ ।

जिल्लाका विभिन्न गाउँमा व्यावसायिक रूपमा सुन्तलाका बिरुवा उत्पादन हुन थालेपछि स्थानीय कृषक मात्र होइन, अन्य जिल्लाका किसानसमेत यहाँबाट बिरुवा खरिद गर्न आउने गरेका छन् ।

रैनादेवी छहरा गाउँपालिका–५ अमलाबासका अग्रणी सुन्तला कृषक दुर्गाप्रसाद कोइरालाले यस वर्ष वर्षा याममा ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा वितरण गर्ने लक्ष्य राखेका छन् । सुन्तला खेतीलाई दीर्घकालीन नगदेबालीका रूपमा विकास गर्ने उद्देश्यले उनले फल उत्पादनसँगै बिरुवा उत्पादनलाई पनि व्यवसायका रूपमा अगाडि बढाउनुभएको हो ।

कोइराला पाल्पाका पुराना सुन्तला कृषकमध्ये एक हुन् । उनले वार्षिक लाखौँ रुपैयाँ बराबरका सुन्तला तथा कलमी बिरुवा उत्पादन गरी पाल्पासहित विभिन्न जिल्लामा आपूर्ति गर्दै आएका छन् । “सुन्तला खेतीबाट आफू मात्र नभई अन्य कृषक पनि आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले बिरुवा उत्पादनलाई प्राथमिकता दिएको छु,” उनले भने ।

रैनादेवी छहराकै अर्का कृषक खिमबहादुर बगालेले पनि सुन्तला नर्सरीलाई व्यावसायिक रूप दिएका छन् । भारतीय सेनाबाट अवकाश प्राप्त बगालेले २०७० सालदेखि नर्सरी व्यवसाय सुरु गरेका हुन् । सुरुमा घरायसी प्रयोजनका लागि लगाइएका केही बोटबाट प्रेरित भएर उनी अहिले ६० हजारभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गरिरहेको बताउँछन् ।

“पहिले घरको आवश्यकता पूरा गर्न मात्र सुन्तला लगाएका थियौँ, अहिले यो आम्दानीको मुख्य स्रोत बनेको छ,” बगालेले भने ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगले सुन्तला खेती र नर्सरी व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको कृषकहरू बताउँछन् ।

परियोजनाले नर्सरी स्थापना, पूर्वाधार निर्माण, प्राविधिक सहयोग तथा उत्पादित बिरुवाको बजारीकरणमा सहजीकरण गरेपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली र पूर्व खोलालाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरिएपछि खेती विस्तारले थप गति लिएको छ । परियोजनाको सहयोगमा जिल्लामा सुन्तलाको व्यावसायिक उत्पादन र बिरुवा उत्पादन दुवै बढ्दै गएको छ ।

गत वर्ष पाल्पाका कृषकहरूले १० करोड रुपैयाँभन्दा बढी मूल्यका सुन्तला बिक्री गरेका थिए । यस वर्ष मौसम अनुकूल रहे उत्पादन र आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ । कृषक नित्यानन्द पोखरेलका अनुसार सुन्तला खेती अहिले धेरै किसानका लागि “जीवनको पेन्सन” जस्तै बनेको छ । “एक पटक राम्रोसँग बगैँचा स्थापना भएपछि वर्षौँसम्म नियमित आम्दानी लिन सकिन्छ,” उनले भने ।

बगनासकाली गाउँपालिका–यम्घाकी कृषक बालकुमारी बस्यालका अनुसार पहिले दुई–चार बोट घरायसी प्रयोजनका लागि लगाउने किसानहरू अहिले सयौँ बिरुवा रोपेर व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

छहराका कृषक मानबहादुर बगालेले यस वर्ष ३० हजार बिरुवा उत्पादन गरेका छन् । उनका अनुसार बीउबाट तयार गरिएका बिरुवा प्रतिगोटा ४५ रुपैयाँ र कलमी बिरुवा प्रतिगोटा १०० रुपैयाँमा बिक्री भइरहेको छ । कास्की, स्याङ्जा लगायतका जिल्लाबाट बिरुवाको माग बढ्दै गएको उनले बताए ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सन्तोष चौधरीका अनुसार परियोजनाले हालसम्म करिब ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारका लागि सहयोग गरेको छ । चालु वर्ष थप ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिए ।

पूर्व खोला गाउँपालिकाका कृषक खेमबहादुर घर्तीले आफ्नो बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट उत्पादनमा रहेको बताए । यस वर्ष थप २०० कलमी बिरुवा रोप्ने तयारीमा रहेका उनले स्थानीय स्तरमै गुणस्तरीय बिरुवा उपलब्ध हुन थालेपछि खेती विस्तार गर्न सहज भएको बताए ।
“पहिले बिरुवा किन्न टाढासम्म जानुपर्थ्यो, अहिले गाउँमै उपलब्ध छन् ।

यसले लागत घटाएको छ र किसानलाई खेती विस्तार गर्न प्रेरित गरेको छ,” उनले भने । सुन्तला उत्पादनसँगै बिरुवा व्यवसाय विस्तार हुन थालेपछि पाल्पाका पहाडी गाउँहरूमा कृषि उद्यमशीलताको नयाँ सम्भावना देखिएको छ । कृषकहरूका अनुसार गुणस्तरीय बिरुवा, प्राविधिक सहयोग र बजारको सुनिश्चितता कायम रहे सुन्तला खेती जिल्लाको प्रमुख नगदेबालीका रूपमा अझ मजबुत बन्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?