© 2026
बुटवल । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद् ३२५ पी नेपालको आयोजनामा लायन्स वर्ष २०२६र०२७ का लागि निर्वाचित अध्यक्षहरूलाई लक्षित गरी लुम्बिनीस्थित लुम्बिनी हेरिटेज होटलमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्वहरूले एक वर्षसम्म लायन्स क्लबले सञ्चालन गर्ने रणनीतिक योजना, सामाजिक गतिविधि तथा अध्यक्षहरूको दायित्वका विषयमा विभिन्न तालिम तथा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा एलसीआईएफ एरिया लिडर अरुणप्रताप राणाको सहभागिता रहेको थियो । उनले लायन्स वर्ष २०२६र०२७ का लागि तय गरिएका अन्तर्राष्ट्रिय रणनीति, समाजमा लायन्सको भूमिका, सदस्यता वृद्धि तथा लायन्सवादका विविध पक्षबारे प्रकाश पारे ।
इलेक्ट डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले “सकारात्मक सोचौँ, खुसी फैलाऔँ” भन्ने मूल मन्त्रका साथ आगामी वर्षका कार्यक्रमहरू सञ्चालन गरिने बताए । उनले ग्लोबल कज अन्तर्गत मधुमेह, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, दृष्टि संरक्षण, बाल्यकालीन क्यान्सर, युवा सशक्तीकरण, मानवीय सेवा तथा विपद् राहतलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिँदै सोसम्बन्धी प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पीकी फस्ट भाइस गभर्नर मिना पन्थीले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरिन् ।
त्यसैगरी, सेकेन्ड इलेक्ट गभर्नर अर्चित श्रेष्ठले लायन्सको आचारसंहिता (कोड अफ कन्डक्ट) तथा लायन्सवादसम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विभिन्न डिस्ट्रिक्ट पदाधिकारीहरूले सामाजिक उद्यमशीलता, प्रभावकारी बैठक सञ्चालन, सफल नेतृत्व विकास तथा सदस्यता किन आवश्यक छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
लायन्स वर्ष २०२६र०२७ का डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ का अनुसार प्रशिक्षण कार्यक्रममा एरिया १ देखि एरिया ५ सम्मका १११ जना अध्यक्षहरूको सहभागिता रहेको थियो ।