Butwal Today

घरमै आउन थाले राहदानी

२४ जेष्ठ २०८३, आइतबार
अ+
अ-

सल्यान । सल्यानका नागरिकले अब आफ्नै घरमा राहदानी पाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानबिच भएको सम्झौता अनुसार राहदानी घरदैलोमै पु¥याउने सेवा कार्यान्वयनमा आएपछि सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न थालेका हुन् ।

सेवाको सुरुवात स्वरूप बनगाड कुपिण्डे नगरपालिका वडा नं, १ निवासी डिल्लीबहादुर रावत र सन्तोषी रावतको राहदानी उनीहरूका आफन्तलाई घरमै पुगेर हस्तान्तरण गरिएको छ । यससँगै सल्यानमा हुलाक सेवामार्फत घरदैलोमै राहदानी वितरणको औपचारिक सुरुवात भएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानबिच २०८३ वैशाख २३ गते सम्पन्न सम्झौता बमोजिम राहदानी वितरणको नयाँ व्यवस्था लागू गरिएको हो ।

उक्त व्यवस्था अनुसार राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालय मार्फत सम्बन्धित स्थानीय तहका हुलाक कार्यालयमा पठाइने र त्यहाँबाट सेवाग्राहीको घरमै पुगेर वितरण गरिनेछ ।

जिल्ला हुलाक कार्यालय सल्यानका अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त ६९ थान राहदानी वितरणका लागि सम्बन्धित पालिकामा पठाइसकिएको छ ।

हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार कालिमाटी गाउँपालिकामा ९, बनगाड कुपिण्डे नगरपालिकामा ७, कपुरकोट गाउँपालिकामा ७, त्रिवेणी गाउँपालिकामा ७, छत्रेश्वरी गाउँपालिकामा ९, बागचौर नगरपालिकामा १६, दार्मा गाउँपालिकामा ३, कुमाख गाउँपालिकामा १, सिद्धकुमाख गाउँपालिकामा ५ र शारदा नगरपालिकामा ५ थान राहदानी पठाइएको छ ।

रेग्मीले एक दुई दिनभित्र सबै राहदानी सम्बन्धित सेवाग्राहीलाई वितरण गरिसक्ने तयारी रहेको जानकारी दिए । यस सेवाले राहदानी प्राप्तिका लागि सदरमुकामसम्म धाउनुपर्ने झन्झट हटाउनुका साथै समय र खर्चको समेत बचत गर्ने उनको भनाई छ ।

राहदानी वितरणको नयाँ व्यवस्थाले सरकारी सेवालाई नागरिकको घरदैलोमै पु¥याउने अवधारणालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । विशेष गरी दुर्गम क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक तथा विभिन्न कारणले सदरमुकामसम्म पुग्न कठिनाइ हुने सेवाग्राहीलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?