Butwal Today

३ वर्षमा पनि पूरा भएन हरित बसपार्क, अन्तिम पटक म्याद थप्ने तयारी

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । हरित बसपार्क नामकरण गरिएको तानसेन बस टर्मिनलको निर्माण कार्यका लागि अन्तिम पटक म्याद थप गर्ने तयारी गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।

सदरमुकाम तानसेनको तानसेन–गुल्मी सडक खण्डअन्तर्गत वनदेवी क्षेत्रमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि काम पूरा हुन नसकेपछि ठेक्का सम्झौताको १० प्रतिशत जरिवाना गरी अन्तिम पटक म्याद थपको प्रक्रिया अगाडि बढाइएको हो ।

नगर विकास कोषमार्फत नेपाल सरकारबाट ऋण लिएर वनदेवीको सल्लाघारी क्षेत्रमा निर्माण भइरहेको बसपार्क दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८० साल वैशाखमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त बसपार्कमा ९० वटा बस अट्ने क्षमता रहनेछ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्ड सञ्चालनमा आएपछि २०२८ सालमा निर्माण गरिएको पुरानो बसपार्क पछिल्लो समय सानो र साँघुरो बन्दै गएपछि झण्डै एक सय रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण कार्य सुरु गरिएको हो । तानसेन–बुटवल–गुल्मी सडक खण्डमा सवारी साधनको चाप बढ्दै गएकाले नयाँ स्थानमा बसपार्क निर्माणको योजना अघि बढाइएको तानसेन नगरपालिकाका प्रमुख प्राविधिक रामप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार निजी तथा सार्वजनिक सवारी साधनको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालको बसपार्क सानो भएकाले साना सवारी साधनका लागि अस्थायी पार्किङस्थलको रूपमा मात्र प्रयोग भइरहेको छ । यहाँबाट बुटवलका लागि दैनिक करिब ४० वटा सवारी साधन सञ्चालन हुन्छन् भने पोखरा, काठमाडौं, गुल्मी, अर्घाखाँची र सुनौलीसम्म ठूला तथा साना सवारी साधन आवतजावत गर्ने गर्दछन् ।

जिल्लाभित्र ५० वटाभन्दा बढी साना सवारी साधन सञ्चालनमा छन् । बसपार्क साँघुरो भएकै कारण टुँडिखेल, नारायणस्थान र विशालबजार क्षेत्रबाट समेत ग्रामीण भेगका लागि जीप छुट्ने गरेका छन् । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा यातायात व्यवसायीलाई समस्या भएको श्रीनगर यातायात प्रालिका कार्यालय प्रमुख झविन्द्र गौतमले बताए ।

तानसेन पर्यटकीय नगरका रूपमा परिचित छ । यहाँ वर्षभरि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । पर्याप्त पार्किङ व्यवस्थाको अभावमा पर्यटकले समेत सास्ती खेप्नुपरेको स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।

हालको बसपार्क सडक किनारमै रहेको र स्थान साँघुरो भएकाले दुर्घटनाको जोखिम समेत बढेको सवारी चालकहरूको भनाइ छ । निर्माण कार्यमा भएको ढिलाइले समस्या झन् बढाएको उनीहरू बताउँछन् ।

निर्माण कम्पनी स्वयम्भु रेड अर्थ हमाल जेभीका प्रमुख ऋषिराम लुइँटेलले यो नेपालमै नयाँ प्रविधिमा आधारित परियोजना भएकाले निर्माण कार्यमा ढिलाइ भएको बताए । उनका अनुसार नयाँ प्रविधि बुझ्न र कार्यान्वयन गर्न लामो समय लागेको थियो । साथै वर्षायाममा अत्यधिक चिस्यानका कारण पनि काम प्रभावित भएको उनले बताए ।

हालसम्म परियोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पुगेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव शर्माले जानकारी दिए ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो चरणमा एक सय रोपनी वन क्षेत्र उपलब्ध गराइएको थियो । आवश्यकता अनुसार थप क्षेत्र विस्तार गर्न सकिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक प्रतिवेदनमा पेट्रोल पम्प, मोटर मर्मत केन्द्र (ग्यारेज) लगायतका संरचना निर्माण गर्ने योजना पनि समावेश गरिएको छ । बसपार्क सञ्चालनमा आएपछि दोस्रो चरणका योजना अघि बढाइनेछ ।

सल्लाका रुख कटान गरिसकेपछि पनि निर्माण कार्य अगाडि नबढेको भन्दै डिभिजन वन कार्यालयले स्वामित्व फिर्ता गर्न दबाब दिएपछि निर्माण प्रक्रिया पुनः सक्रिय बनेको डिभिजन वन कार्यालयका प्राविधिकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?