Butwal Today

जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

त्रिवेणी (रुकुम पश्चिम) ।  रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा छ जनाको प्रहरी टोली खटिएको थियो । उनीहरूको साथबाट रु १ लाख ६७ हजार १०५ सहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको ताससमेत बरामद गरिएको उनले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ । कार्यालय बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको हो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाएको सानीभेरी गाउँपालिकाले जनाएको छ ।

कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवा प्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन उक्त निर्णय गरिएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो ।

गाउँपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ । साथै सेवाग्राहीलाई आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

सानीभेरी गाउँपालिकाको यो कदमले कार्यालयको कार्यक्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले समयमै सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?