Butwal Today

‘पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल’ हुँदै

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

भैरहवा । रुपन्देहीका कर्पोरेट संस्था, उद्योगी तथा व्यवसायीबिच आपसी समन्वय, सद्भाव र मैत्री सम्बन्ध विकास गर्ने उद्देश्यले भैरहवामा ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।

माटिकोरे मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका पब्लिक कुरा डटकमले आफ्नो स्थापना दिवसको पाँचौँ वर्ष पूरा गरेको अवसरमा जेठ २३ र २४ गते प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता सिद्धार्थनगर–१३ स्थित भैरहवा फुटसल मैदानमा सञ्चालन हुनेछ ।

आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको जानकारी दिँदै उद्योग–व्यवसायको केन्द्रका रूपमा परिचित रुपन्देहीमा कर्पोरेट संस्कृति विकास तथा विभिन्न संस्थाबिच सहकार्य र भाइचाराको सम्बन्ध मजबुत बनाउन प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

प्रतियोगितामा २६ वटा टोलीको सहभागिता रहने पब्लिक कुरा डट कमका प्रधान सम्पादक माधव ढुङ्गानाले जानकारी दिए । प्रत्येक टोलीमा खेलाडी तथा अफिसियल गरी अधिकतम १० जना सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

सहभागी खेलाडीहरू सम्बन्धित संस्थाका कर्मचारी वा साधारण सदस्य हुनुपर्नेछ भने प्रत्येक टोलीले दुई जना बाहिरी खेलाडी पनि समावेश गर्न पाउनेछ ।  सरकारी कार्यालय तथा सुरक्षा निकायका टोलीहरू समेत गरी प्रतियोगितामा २६ टिम सहभागी रहेको ढुङ्गानाले बताए ।

प्रतियोगितामा सहभागी सबै खेलाडीहरूको एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड मार्फत गरिएको उनले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । पब्लिक कुरा डट कमका सम्पादक प्रकाश न्यौपानेका अनुसार उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई ४ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

न्यौपानेका अनुसार खेल फुटसलको प्रचलित नियमअनुसार सञ्चालन हुनेछ र खेल एन्फाका आधिकारिक रेफ्रिहरूले खेलाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?