© 2026
सिद्धार्थनगर । नेपाली क्रिकेटमा लामो समय योगदान दिएका पूर्व राष्ट्रिय क्रिकेटर तथा क्रिकेट विकासका अभियन्ता शक्ति गौचन रुपन्देही क्रिकेट सङ्घको नेतृत्व सम्हाल्ने तयारीमा छन् ।
आगामी जेठ २५ गते हुने रुपन्देही क्रिकेट सङ्घको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका गौचनले क्रिकेट पूर्वाधार विकास, खेलाडीको भविष्य सुरक्षा, नियमित प्रतियोगिता सञ्चालन तथा संस्थागत सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।
गौचनले रुपन्देही जिल्लामा क्रिकेटको विकासलाई एउटा मैदान वा सीमित क्षेत्रमा मात्र केन्द्रित गर्न नहुने धारणा राखे । जिल्लाभर रहेका क्रिकेट पूर्वाधारहरूको स्तरोन्नति र विस्तारमार्फत क्रिकेटलाई गाउँ गाउँसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै उनले एक्सट्राटेक ओभल, देवदह क्रिकेट मैदान तथा सैनामैना क्षेत्रका क्रिकेट पूर्वाधार विकासमा विगतदेखि नै व्यक्तिगत तथा सामूहिक प्रयास भइरहेको बताए ।
आगामी दिनमा यस्ता प्रयासलाई संस्थागत रूपमा अगाडि बढाइने उनको प्रतिबद्धता छ । उनले क्रिकेट खेलाडीहरूको भविष्य सुरक्षित गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे । धेरै खेलाडीहरूले क्रिकेटपछि आफ्नो करियरबारे अन्योलता भोग्नुपरेको भन्दै स्थानीय स्तरमै ‘कन्ट्र्याक्ट सिस्टम’ लागू गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
निजी क्षेत्र तथा विभिन्न कम्पनीहरूसँग सहकार्य गरेर खेलाडीहरूलाई आर्थिक तथा व्यावसायिक अवसर उपलब्ध गराउन सकिने उनको विश्वास छ । यसले खेलाडीहरूलाई क्रिकेटप्रति थप प्रतिबद्ध बन्न प्रेरित गर्ने उनले बताए ।
युवा प्रतिभाको विकासका लागि नियमित प्रतियोगिता अपरिहार्य रहेको बताउँदै गौचनले अन्डर–१४, अन्डर–१६, अन्डर–१९ तथा विशेषगरी अन्डर–२३ स्तरका प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन गरिने योजना सार्वजनिक गरे । साथै क्लब स्तरीय प्रतियोगितालाई समेत व्यवस्थित र निरन्तर बनाइने उनको भनाइ छ ।
उनले पछिल्लो समय युवा खेलाडीहरू विदेश पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै पर्याप्त अवसर र प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउन सके प्रतिभाशाली खेलाडीहरूलाई जिल्लामै रोक्न सकिने विश्वास व्यक्त गरे ।
गौचनले आफू नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लुम्बिनी लायन्स सँग आबद्ध रहेको जानकारी दिँदै जिल्लाका प्रतिभावान खेलाडीहरूलाई फ्रेन्चाइज क्रिकेटसम्म पुग्ने अवसर सिर्जना गर्न पहल गर्ने बताए । भविष्यमा जिल्ला स्तरीय तथा फ्रेन्चाइज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई लुम्बिनी लायन्सको टोलीमा प्राथमिकता दिन सकिने वातावरण निर्माण गर्न आफूले भूमिका खेल्ने उनको भनाइ छ ।
नेपाल क्रिकेट संघमा पारस खड्का को आगमनपछि नेपाली क्रिकेटमा देखिएको सकारात्मक परिवर्तनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै गौचनले रुपन्देही क्रिकेटमा पनि त्यस्तै परिवर्तन आवश्यक रहेको बताए । आफू र आफ्नो टोली स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र समर्पित नेतृत्वसहित चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै उनले रुपन्देहीलाई नेपालकै उत्कृष्ट क्रिकेट जिल्ला बनाउने लक्ष्य राखेको बताए ।
“हामी केवल चुनाव जित्नका लागि होइन, रुपन्देही क्रिकेटको भविष्य निर्माण गर्न मैदानमा आएका हौँ,” गौचनले भने, “सबल पूर्वाधार, नियमित प्रतियोगिता, खेलाडीमैत्री नीति र पारदर्शी नेतृत्वमार्फत जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने हाम्रो सङ्कल्प छ ।”
उनले सम्पूर्ण क्रिकेटकर्मी, क्लब, खेलाडी तथा सरोकारवालाहरूलाई एकताबद्ध भएर रुपन्देही क्रिकेटको समग्र विकासमा साथ दिन पनि आग्रह गरेका छन् । गौचनले आफ्नो अभियानलाई साथ दिने ‘लुम्बिनी खुकुरी क्लब’ सहित सम्पूर्ण कार्यसमिति, पूर्व अध्यक्षहरू तथा खेलाडीहरूप्रति आभार व्यक्त गरे ।
उनले आफूले करिब १० वर्ष सोही क्लबबाट क्रिकेट खेलेर खेल जीवनको सुरुवात गरेको स्मरण गर्दै क्लबसँगको सम्बन्ध केवल खेलमा सीमित नभई भावनात्मक रूपमा पनि जोडिएको बताए ।