© 2026
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गरेका छन् । साथै उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उनको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबिच रहेको विशेष र बहु आयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक उल्लेख गरेका छन् ।
भेटका अवसरमा उनीहरूबिच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा) बिचको सम्बन्ध, दुई देशबिचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा भारतीय विदेश मन्त्री डा एस जय शङ्कर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उनकी धर्मपत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको पनि सहभागिता थियो ।
भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लमिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका हुन । यसबिचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह, विदेश मन्त्री डा एस जय शङ्कर, भाजपाका अध्यक्ष नवीनलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गरेका थिए ।