Butwal Today

तिनाउ सुनचाँदी पसलबाट ८० तोला सुन चोरी

२० जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ । चोरीमा सुनका गरगहना तथा काँचो सुन गरी करिब ८० तोला सुन हराएको छ ।

पसल सञ्चालक दिपक सेन्चुरी घुमघामका लागि पोखरा गएका बेला घटना भएको हो । सोमबार बिहान पसलको सटर खुलेको अवस्थामा देखेपछि स्थानीयले सञ्चालकलाई खबर गरेका थिए । त्यसपछि पसलमा पुगेका परिवारका सदस्य र कामदारले चोरी भएको पुष्टि गरेका हुन् ।

पसल सञ्चालक सेन्चुरीले सुनका गरगहना र काँचो सुन गरी ८० तोला चोरी भएको र जसको बजार मूल्य साढे दुई करोड हुने बताए ।
पसलका कामदार नवीन बिकका अनुसार पसलमा जडान गरिएको सिसिटिभी क्यामेरा करिब तीन महिनादेखि बिग्रिएको अवस्थामा थियो । चोरले यही कमजोरीको फाइदा उठाएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलको निरीक्षणका क्रममा पसलभित्र एउटा ठूलो चापीको झुप्पा फेला परेको छ । तर ती चापीहरू पसलकै नभएको बताइएको छ । पसलभित्र रहेका दुईमध्ये सुनका गरगहना राखिएको लकर खुला अवस्थामा भेटिएको थियो भने त्यसमा राखिएका सुनका सामग्री गायब थिए ।

त्यस्तै पसलभित्र प्रवेश गर्नुपर्ने च्यानल गेट र बाहिरी सटरमा तोडफोड भएको थिएन । यसले चोर सहज रूपमा पसलभित्र प्रवेश गरेको वा कुनै विशेष तरिकाले सुरक्षा प्रणाली छल्न सफल भएको हुन सक्ने आशङ्का बढाएको छ ।

घटनास्थलबाट करिब १५० मिटरको दूरीमा प्रहरी बिट रहे पनि चोरीको घटना हुनुले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ । करोडौँ रुपियाँ मूल्य बराबरका सुनका गरगहना चोरी भएको घटनाले बुटवलका व्यवसायी त्रसित छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन श्री वास्तवले सुनका गरगहना र काँचो सुन गरी करिब ८० तोला सुन चोरी भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए ।

उनले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको तथा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी परिचालित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?