Butwal Today

देशकै स्वास्थ्य गन्तव्य बन्दै रुपन्देही

२० जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशको केन्द्रबिन्दुका रूपमा रहेको रुपन्देही जिल्ला स्वास्थ्य सेवामा देशकै प्रमुख गन्तव्य बन्दै गएको छ ।

सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको विस्तार, आधुनिक प्रविधिको प्रयोग र ठुलो मात्रामा भएको लगानीका कारण रुपन्देहीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय फड्को मारेको देखिन्छ ।

एक समय सामान्य उपचारका लागि पनि काठमाडौँ वा भारतका ठुला सहर धाउनुपर्ने बाध्यता रहे पनि अहिले बुटवल, भैरहवा र देवदहलाई केन्द्र बनाएर विकसित स्वास्थ्य संरचनाले सो समस्या धेरै हदसम्म घटाएको छ । लुम्बिनी प्रदेशसहित पश्चिम नेपालका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि रुपन्देही आउने क्रम निरन्तर बढिरहेको छ ।

स्वास्थ्य विकासको केन्द्रका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल प्रमुख संरचना बनेको छ । १२ सय शैयामा विस्तार गर्ने लक्ष्यसहित करिब ७ अर्ब रुपियाँ लागतमा आधुनिक भवन निर्माण कार्य जारी छ । यस अस्पतालमा प्रदेशका मात्र नभई अन्य प्रदेश र छिमेकी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् ।

सरकारी अस्पतालसँगै रुपन्देहीमा निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूले पनि उल्लेखनीय भूमिका खेलिरहेका छन् । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, देवदह मेडिकल कलेज, बुटवल हस्पिटल प्रा.लि., भीम अस्पताल, लुम्बिनी आयुर्वेद चिकित्सालय, मेडिटेक, लुम्बिनी सिटी अस्पताल तथा निर्माणाधीन सञ्जीवनी इन्टरनेशनल अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालले आगामी दिनमा सेवा विस्तार गर्ने लक्ष्य लिएका छन् ।

आँखा उपचारको क्षेत्रमा राणअम्बिका आँखा अस्पताल र बुटवल लायन्स आँखा अस्पतालले नेपालसँगै उत्तर भारतका बिरामीलाई समेत सेवा दिँदै आएका छन् । यस्तै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ओपन सर्जरी बाहेकका सम्पूर्ण मुटु उपचार सेवा, निःशुल्क मिर्गौला डायलिसिस तथा छाती रोग उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले रुपन्देहीमा धेरै उपचार सेवा गुणस्तरीय रूपमा उपलब्ध भए पनि क्यान्सर जस्ता जटिल रोगको पूर्ण उपचार सेवा अझै पर्याप्त रूपमा विस्तार हुन नसकेको बताए । उनका अनुसार ठुला उपकरणहरू बिग्रिँदा मर्मतका लागि दक्ष जनशक्ति नहुँदा अस्पतालहरू समस्यामा पर्ने गरेका छन् ।

“हामीले अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेका छौँ, तर मर्मत–सम्भारका लागि आवश्यक प्राविधिक जनशक्ति नहुँदा समस्या उत्पन्न हुन्छ,” उनले भने । उनले स्थानीय तहमा सामान्य उपचार सेवा सुदृढ भए बिरामीको चाप ठुला अस्पतालमा कम गर्न सकिने पनि बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले जिल्लामा स्वास्थ्य सेवा विस्तार भए पनि सबै नागरिकलाई समान पहुँच पु¥याउनु अझै चुनौतीपूर्ण रहेको बताइन् । उनका अनुसार गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय तहसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । “स्वास्थ्य सेवा पहुँचमुखी बनाउन सबै तहको सहकार्य आवश्यक छ,” उनले भनिन् ।

यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले रुपन्देही प्रदेशकै मात्र नभई देशकै स्वास्थ्य हबका रूपमा विकसित हुँदै गएको उल्लेख गरे । उनका अनुसार प्रदेश सरकारले अस्पताल पूर्वाधार विस्तार, विशेषज्ञ सेवा वृद्धि र स्वास्थ्य जनशक्ति उत्पादनमा विशेष ध्यान दिएको छ ।

“रुपन्देहीमा स्वास्थ्य क्षेत्रमा ठुलो लगानी भइसकेको छ, अब लक्ष्य सेवा गुणस्तरलाई अझ सुदृढ बनाउँदै सबै नागरिकलाई सहज पहुँच सुनिश्चित गर्नु हो,” मन्त्री सारूले भने ।

जिल्लाका सबै स्थानीय तहहरूले नगर अस्पताल निर्माण तथा आधारभूत स्वास्थ्य सेवा विस्तारमा जोड दिएका छन् । यससँगै रुपन्देही औषधि उत्पादनको केन्द्रका रूपमा पनि विकसित हुँदै गएको छ । जिल्लामा आधा दर्जनभन्दा बढी आधुनिक औषधी उद्योग सञ्चालनमा रहेका छन्, जसले देशको औषधी आवश्यकताको ठुलो हिस्सा आन्तरिक रूपमा पूर्ति गर्न सहयोग गरिरहेका छन् ।

विशेषज्ञहरूका अनुसार रुपन्देही स्वास्थ्य पूर्वाधार, लगानी र सेवाका हिसाबले देशकै अग्रणी जिल्लामध्ये एक बनेको छ । तर अत्याधुनिक उपचार सेवा अझै सर्वसुलभ बनाउन नीति, जनशक्ति र प्रविधिमा थप सुधार आवश्यक रहेको उनीहरूको धारणा छ ।

स्वास्थ्य कार्यालयका अनुसार यहाँका कतिपय स्थानीय तहमा दरबन्दी अनुसारकै कर्मचारी पूर्ति भएका छन् भने कतिपय ठाउँमा करार सेवा र रिक्त पदका कारण स्वास्थ्य सेवा व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

विवरण अनुसार तिलोत्तमा नगरपालिकामा सबैभन्दा धेरै स्वास्थ्य जनशक्ति परिचालित छन् । त्यहाँ कुल ३४ जनाको दरबन्दी रहेकोमा सबै दरबन्दी पूर्ति भइसकेको छ भने थप १ जना करार सेवामा कार्यरत छन् । तिलोत्तमामा सबै ३४ जना प्यारामेडिक्स (५/६/७ औँ तह) का कर्मचारी रहेका छन् ।

यस्तै, शुद्धोदन गाउँपालिका स्वास्थ्य जनशक्तिको उपलब्धताका हिसाबले दोस्रो स्थानमा देखिएको छ । त्यहाँ कुल २२ जनाको स्वीकृत दरबन्दी रहेकोमा सबै स्थान पूर्ति भएको छ । शुद्धोदनमा १ जना मेडिकल अधिकृत (स्वीकृत दरबन्दी र पूर्ति दुवै १/१), २ जना जनस्वास्थ्य अधिकृत र १९ जना प्यारामेडिक्स कार्यरत छन्। साथै त्यहाँ ३ जना मेडिकल अधिकृत करार सेवामा समेत कार्यरत छन् ।

देवदह नगरपालिकामा कुल १४ जनाको स्वीकृत दरबन्दी रहेकोमा १२ जना पूर्ति भएका छन् र २ पद रिक्त छ । यहाँ २ जना करारमा कार्यरत छन् । बुटवल उपमहानगरपालिकामा कुल १४ जनाको स्वीकृत दरबन्दीमा १२ जना पूर्ति र २ रिक्त रहेको छ । यहाँ कन्सल्टेन्ट चिकित्सक ३ जना र प्यारामेडिक्स २ जना करारमा कार्यरत छन् ।

सैनामैना नगरपालिकामा ११ जना स्वीकृत दरबन्दी रहेकोमा १२ जना (स्वीकृत भन्दा १ बढी पूर्ति) कार्यरत छन् । यहाँ १ मेडिकल अधिकृत र १ प्यारामेडिक्स करारमा छन् । सियारी गाउँपालिकामा कुल १६ जनाको स्वीकृत दरबन्दी रहेकोमा सबै पूर्ति भइसकेका छन् । यहाँ २ जना प्यारामेडिक्स करार सेवामा छन् ।

कञ्चन र गैडहवा गाउँपालिकामा स्वास्थ्य जनशक्तिको सङ्ख्या सबैभन्दा कम देखिएको छ । कञ्चन गाउँपालिकामा ९ जनाको स्वीकृत दरबन्दी रहेकोमा ९ जना नै पूर्ति भएका छन् (१ जनस्वास्थ्य अधिकृत र ८ प्यारामेडिक्स)। त्यस्तै, गैडहवा गाउँपालिकामा ८ जना प्यारामेडिक्सको स्वीकृत दरबन्दी रहेकोमा ८ जना नै पूर्ति भएका छन्। गैडहवामा थप १ जना प्यारामेडिक्स करारमा कार्यरत छन् ।

लुम्बिनी सांस्कृतिक नगर २७ जनाको स्वीकृत दरबन्दी रहेकोमा २६ जना पूर्ति भइसकेका छन् भने १ पद रिक्त छ । लुम्बिनीमा २ जना कर्मचारी करार सेवामा समेत कार्यरत छन् । यसै गरी, रोहिणी गाउँपालिकामा २० जनाको स्वीकृत दरबन्दी रहेकोमा स्वीकृत भन्दा बढी अर्थात् २३ जना कर्मचारी कार्यरत रहेका छन् ।

कोटहीमाई गाउँपालिकामा १३ जनाको स्वीकृत दरबन्दी रहेकोमा ७ जना मात्र पूर्ति भई ६ वटा पद रिक्त रहेका छन् । त्यस्तै मर्चवारी गाउँपालिकामा १० जनाको स्वीकृत दरबन्दीमा ७ जना मात्र पूर्ति भएका छन् भने ३ पद रिक्त रहेको छ ।

ओमसतिया गाउँपालिकामा १३ जनाको स्वीकृत दरबन्दीमा १३ जना नै पूर्ति भएका छन् भने १ जना करारमा कार्यरत छन् । मायादेवी गाउँपालिकामा १७ जनाको स्वीकृत दरबन्दी रहेकोमा १७ जना नै पूर्ण रूपमा कार्यरत छन् ।

सिद्धार्थनगर नगरपालिकामा २ जनाको स्वीकृत दरबन्दी रहेकोमा २ जना नै पूर्ति भएका छन् । सम्मेरीमाई गाउँपालिकामा ७ जनाको स्वीकृत दरबन्दीमा ५ जना पूर्ति र २ पद रिक्त रहेको छ । यहाँ १ जना करारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?