© 2026
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको भुक्तानी लिन असार १५ गते सम्म आउनुपर्ने जनाएको छ ।
काम समयमै सम्पन्न गर्न सम्बन्धित सबै उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सेवा प्रदायकलाई १५ गतेभित्र आवश्यक कागजातसहित भुक्तानी लिन आग्रह गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले परिपत्र जारी गरेका हुन् ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा चालु आर्थिक वर्ष समाप्त हुन लागेकाले विकास निर्माणसँग सम्बन्धित योजनाको भुक्तानी, फरफारक तथा लेखा व्यवस्थापनलाई व्यवस्थित बनाउन समय सीमा तोकिएको उल्लेख गरिएको छ ।
नगरपालिकाले तोकिएको मितिभित्र आवश्यक बिल, भरपाई, प्राविधिक प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र तथा सम्बन्धित कागजात पेस नगरे भुक्तानी प्रक्रिया अगाडि बढाउन कठिनाइ हुने जनाएको छ ।
नगरपालिकाका अनुसार कतिपय योजनाहरू सम्पन्न भए पनि आवश्यक कागजी प्रक्रिया ढिलो हुँदा भुक्तानी रोकिएको अवस्था देखिएको छ । यसले आर्थिक अनुशासनमा असर पार्ने भएकाले सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
विशेष गरी वडा कार्यालयमार्फत सञ्चालन भएका साना तथा ठुला योजनाका उपभोक्ता समितिहरूलाई समयमै सम्पूर्ण कागजात तयार गरी नगरपालिकाको लेखा शाखामा पेस गर्न भनिएको छ । नगरपालिकाले असार मसान्तमा हुने अत्यधिक चापलाई मध्यनजर गर्दै प्रारम्भिक चरणमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो ।
शितगंगा नगरपालिकाले विकास निर्माणका कामलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउन आर्थिक प्रशासनलाई प्रभावकारी बनाउँदै आएको अधिकृत नुमलाल खनालले बताएका छन् ।
समय सीमा भित्रै भुक्तानी प्रक्रिया सम्पन्न गर्न सके आगामी आर्थिक वर्षको योजना कार्यान्वयनमा समेत सहजता आउने विश्वास नगरपालिकाको छ ।
