© 2026
बर्दघाट । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको सशस्त्र प्रहरी टोलीले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सुरक्षा अवस्थाको अवलोकन गरेको छ ।
शिक्षालयमा सञ्चालन भइरहेको सि.सं ३३ महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा तालिमअन्तर्गत टोलीले संस्थाको सुरक्षा अवस्था, सम्भावित चुनौती तथा संस्थागत गतिविधिबारे स्थलगत अध्ययन गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक केदारनाथ सापकोटाका अनुसार तालिमरत सुरक्षाकर्मीलाई महत्त्वपूर्ण प्रतिष्ठानमा हुन सक्ने जोखिम, चुनौती तथा तिनको न्यूनीकरणका उपायबारे व्यावहारिक जानकारी दिने उद्देश्यले संस्थागत अवलोकन गराइएको हो ।
महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा एडभान्स तालिममा सहभागी करिब ६० जना सशस्त्र प्रहरी कर्मचारीले स्थलगत अवलोकनका साथै सम्भावित जोखिम र त्यसको न्यूनीकरणका विषयमा अन्तरक्रिया समेत गरेका थिए ।
संस्थाका अध्यक्ष दिपक लम्सालले संस्थाको परिचय दिँदै विपद् व्यवस्थापन, खानेपानी सञ्चालनमा आउन सक्ने सम्भावित जोखिम तथा न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए । उनले खानेपानी सञ्चालन तथा वितरणमा प्राकृतिक र मानव सिर्जित विपद्को व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षको सक्रिय पहल आवश्यक रहेको बताए ।
संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना टोली संयोजक कमल थापा ले प्राकृतिक विपद्भन्दा मानव सिर्जित जोखिम रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारी ले खानेपानी जस्तो संवेदनशील क्षेत्रको सुरक्षा र विपद् व्यवस्थापनका लागि सरोकारवाला सबै निकायको समयमै सहयोग आवश्यक रहेको बताइन् ।
संस्थाका व्यवस्थापक विष्णु कुमार भुसाल ले विपद् न्यूनीकरण तथा समाधानमा सुरक्षा निकायको चासो र सहभागिता सकारात्मक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।