Butwal Today

फोहरमै दौड, सरसफाइमा जित: एक घण्टामै ७ क्विन्टल ६० किलो फोहर सङ्कलन

१८ जेष्ठ २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । सामान्यतया दौड प्रतियोगितामा सहभागीहरू गन्तव्यमा सबैभन्दा पहिले पुग्न प्रतिस्पर्धा गर्छन् । तर कपिलवस्तुको विजयनगर गाउँपालिकामा भने दौडको उद्देश्य फरक थियो ।

यहाँ सहभागीहरू गन्तव्यमा छिटो पुग्नभन्दा पनि बाटोमा भेटिने फोहर धेरैभन्दा धेरै सङ्कलन गर्न ६ गते बुधबार व्यस्त देखिन्थे ।  कसैले प्लास्टिकका बोतल उठाइरहेका थिए, कसैले कागजका टुक्रा बटुलिरहेका थिए भने कतिपयले काँचका सिसा सङ्कलन गरिरहेका थिए ।

वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना जगाउने उद्देश्यले गाउँपालिकाले आयोजना गरेको ‘फोहर सङ्कलन खुल्ला दौड प्रतियोगिता’ अहिले स्थानीय स्तरमा चर्चाको विषय बनेको छ । वडा नम्बर ३ पत्थरदेइयास्थित जनता आधारभूत विद्यालयदेखि जगदीशपुर चोकसम्म सञ्चालन गरिएको प्रतियोगितामा ४० जना युवाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको अवधारणा सरल थियो–दौडिँदै फोहर टिप्ने र वातावरण सफा बनाउने थियो । तर यसको प्रभाव निकै गहिरो देखियो । केवल एक घण्टाको अवधिमा सहभागीहरूले सडक र आसपासका क्षेत्रमा छरिएका ७ क्विन्टल ६० किलो नसड्ने फोहर सङ्कलन गर्न सफल भए हुन् । यसले स्थानीय क्षेत्रमा बढ्दै गएको प्लास्टिकजन्य प्रदूषणको अवस्था पनि उजागर गरिदिएको छ ।

सङ्कलित फोहरमध्ये प्लास्टिकका बोतल, प्लास्टिकका डिब्बा, काँचका गिलास, सिसाजन्य सामग्री तथा विभिन्न प्रकारका कागज थिए । दैनिक रूपमा यिनै सामग्री सडक किनार, सार्वजनिक स्थल र बस्ती आसपास छरिएर वातावरण प्रदूषित गरिरहेका हुन्छन् । तर एक दिनको अभियानले ती फोहरलाई व्यवस्थापन गर्नुका साथै नागरिकमा चेतना फैलाउने काम गरेको छ ।

गाउँपालिका अध्यक्ष गोपाल थापाले सरसफाइलाई केवल कार्यक्रमका रूपमा होइन, अभियानका रूपमा अगाडि बढाइएको बताए । उनका अनुसार फोहर व्यवस्थापन स्थानीय तहको चुनौती बन्दै गइरहेको अवस्थामा यस्ता रचनात्मक कार्यक्रमले समुदायलाई प्रत्यक्ष रूपमा जोड्ने काम गर्छन् ।“वातावरण सफा राख्ने जिम्मेवारी सबैको हो ।

युवाहरूको उत्साहजनक सहभागिताले समाजमा सकारात्मक सन्देश दिएको छ” अध्यक्ष थापाले बताए । प्रतियोगितामा सहभागी युवाहरूको उत्साह पनि उल्लेखनीय देखिन्थ्यो । पुरस्कार जित्ने लक्ष्य भए पनि धेरैले वातावरण संरक्षणलाई प्राथमिक उद्देश्य बनाएको बताएका थिए ।

प्रतियोगितामा विवेक सिंह चौधरीले सबैभन्दा धेरै ९४ दशमलव २४ किलो फोहर सङ्कलन गर्दै प्रथम स्थान हासिल गरे । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै अहमद हुसेन दोस्रो तथा अस्फाक अहमद तेस्रो बने ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले फोहर व्यवस्थापनलाई केवल सरसफाइसँग मात्र नभई नागरिक चेतना समेत फैलाएको बताए । उनका अनुसार विद्यालय तहदेखि नै सरसफाइ र वातावरण संरक्षणबारे व्यवहारिक शिक्षा आवश्यक छ ।

“किताबमा पढाएर मात्र हुँदैन, यस्ता गतिविधिले जिम्मेवारीको भावना विकास गर्छ”-उनले भने । धेरै स्थानीय तहहरू फोहर व्यवस्थापनको समस्यासँग जुधिरहेका बेला विजयनगरले अपनाएको यो अभ्यास फरक र सिर्जनात्मक देखिन्छ ।

सामान्यतया सरसफाइ अभियानमा सीमित रहने कार्यक्रमलाई प्रतिस्पर्धासँग जोड्दा युवाहरूको सहभागिता बढेको छ । यसले सरसफाइलाई बोझ नभई सामाजिक जिम्मेवारीका रूपमा स्थापित गर्न सहयोग पु¥याएको छ ।

सरसफाइ संयोजक अर्जुन बेल्वासेका अनुसार गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । स्थानीय बालबालिका, युवा तथा अभिभावकहरूमा वातावरण संरक्षणप्रति चासो बढेको उनको अनुभव छ ।

यदि समुदाय, स्थानीय सरकार र युवाहरू एकसाथ सक्रिय हुने हो भने फोहरले भरिएका सडकलाई सफा र व्यवस्थित बनाउन धेरै समय लाग्दैन । एक घण्टाको दौडले विजयनगरलाई मात्र होइन, अन्य स्थानीय तहलाई पनि सरसफाइको नयाँ अभ्यास सिकाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?