Butwal Today

हराउँदै गएको संस्कृति बचाउन ‘अवधि सांस्कृतिक उत्सव’

१८ जेष्ठ २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा ।  मोबाइल, इन्टरनेट र आधुनिक जीवनशैलीको तीव्र प्रभावबिच तराईका धेरै मौलिक संस्कृति र परम्परा बिस्तारै ओझेल पर्दै गएका छन् । यस्तै अवस्थामा आफ्नो पहिचान जोगाउने प्रयास स्वरूप आयोजना गरिएको हो – अवधि सांस्कृतिक उत्सव ।

कपिलवस्तुको कृष्णनगरमा आयोजित उत्सव कार्यक्रमले स्थानीय समुदायमा सांस्कृतिक चेतना जगाउने प्रयास गरेको छ ।

उत्सवमा सहभागी कलाकारहरूले परम्परागत कँहरवा, कजरी, विवाह गीत, बिरहा, झर्रा, धोबिहवा र अहिरउवा लगायतका लोकगीत प्रस्तुत गर्दा सभा हल साङ्गीतिक माहौलले भरिएको थियो । पुराना पुस्ताले आफ्नो बाल्यकाल र परम्परागत जीवनशैली सम्झिए भने युवा पुस्ताले आफ्ना पुर्खाको सांस्कृतिक सम्पदालाई नजिकबाट बुझ्ने अवसर पाएको स्थानीय बताउँछन् ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सांस्कृतिक पहिचान नै समाजको वास्तविक सम्पत्ति भएको बताए । चाडपर्व, विवाह तथा विशेष अवसरहरूमा आफ्नै मौलिक भेष भूषा र संस्कृतिको प्रयोग गर्न आग्रह गर्दै नयाँ पुस्तालाई आफ्ना जरा र पहिचानसँग जोड्नुपर्ने आवश्यकता रहेको उनले बताए । “हामी आधुनिक बन्न सक्छौँ, तर आफ्ना संस्कृति र परम्परा बिर्सनु हुँदैन,” उनले भने, “हाम्रो मौलिक पहिचान जोगिए मात्र समाजको सांस्कृतिक अस्तित्व सुरक्षित रहन्छ ।” अवधि कला, संस्कृति र परम्पराको संरक्षणका लागि नगरपालिका निरन्तर सहयोगी रहने शाहले प्रतिबद्धता व्यक्त गरे ।

अवध जागरण मिडिया प्रालिका व्यवस्थापक निरहु यादवले लोपोन्मुख अवस्थामा पुगेका अवधि सांस्कृतिक अभ्यासहरूलाई पुनर्जीवित गर्नु र युवा पुस्तामा यसको महत्वबारे जागरण गराउने बताए । पुस्तान्तरणको अभावले हराउँदै गएका लोकसंस्कृतिलाई बचाउन नियमित रूपमा यस्ता गतिविधि आवश्यक रहेको स्थानीय राम कृष्ण यादवले बताए ।

अवधि समुदायको मौलिक कला, संस्कृति, भाषा, भेष भूषा संरक्षण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताइएको छ । अवध जागरण मिडिया प्रालिको आयोजनामा तथा कृष्णनगर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा अवधि संस्कृतिका विविध पक्षहरू एकै थलोमा प्रस्तुत गरिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?