Butwal Today

कतारमा १९ औँ  गणतन्त्र दिवस भव्य रूपमा मनाइयो 

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

दोहा (कतार) । नेपाली राजदूतावास कतारको आयोजनामा गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ। शुक्रबार दूतावासको सभा हलमा आयोजित विशेष कार्यक्रमबिच १९औँ गणतन्त्र दिवस उत्साहपूर्वक मनाइएको हो।

सीमित सङ्ख्यामा वक्ताहरू सहभागी रहेको उक्त कार्यक्रम तोकिएको समयमै सुचारु गरिएको थियो कतारमा स्थापित विभिन्न वैचारिक सङ्गठनका प्रतिनिधिहरूले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आ–आफ्ना धारणा राख्दै नेपालको गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणमा जोड दिएका थिए ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष  मोहम्मद मुक्तता मुसलमानले मन्तव्यका क्रममा गणतन्त्र स्थापना गर्न केन्द्रीय तहका नेताहरूले खेलेको भूमिकाको चर्चा गर्दै ती नेताहरू कतार भ्रमणमा आउँदा नेपाली राजदूतावास कतारले चासो न राखेको समेत गुनासो राखेका थिए ।

प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चूडामणि कार्कीले गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हजारौँ नेपाली जनताको आँसु र रगतबाट गणतन्त्र स्थापना भएको बताएका थिए। “गणतन्त्र प्राप्त गर्नु मात्रै ठुलो उपलब्धि होइन, यसको रक्षा गर्नु अझ ठुलो जिम्मेवारी हो,” उनीहरूको भनाइ थियो।

नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अलिले कार्यक्रममा बोल्दै देशका प्रधानमन्त्रीले गणतन्त्र दिवसको अवसरमा औपचारिक सम्बोधन नगरेको विषयलाई लिएर असन्तुष्टि जनाएका थिए ।

अलीले  प्रधानमन्त्रीबाट सम्बोधन नआउनु दुःखद भएको उल्लेख गर्दै उनीहरूले राष्ट्रिय महत्वका दिवसमा राज्य नेतृत्व अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने धारणा राखे।

जनप्रगतिशील मञ्च कतारका कार्यवाहक अध्यक्ष विकास गैर्हेले मन्तव्यका क्रममा गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका नेपाली जनता, आन्दोलनका योद्धा तथा सहिदहरुको योगदानलाई स्मरण गर्दै सुन्दर, समावेशी र सुदृढ गणतन्त्र निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली जनताले दुई सय चालीस वर्ष पुरानो राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै गणतन्त्र स्थापनाका लागि ज्यानको बलिदान दिने सहिद तथा आन्दोलनका योद्धाहरूको योगदानको उच्च सम्मान गर्दै नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाली जनता सार्वभौम बनेको बताएका थिए। “जनता नै सर्वशक्तिमान् हुन् भन्ने मान्यता गणतन्त्रले स्थापित गरेको छ,” उनले उल्लेख गरे।

कार्यक्रममा बोल्दै राईले गणतन्त्रले जनताको अपेक्षाअनुसार सार्थकता पाउन नसके सकेको गुनासो समेत राखेका थिए ।

गणतन्त्र दिवसजस्तो महत्त्वपूर्ण कार्यक्रममा अपेक्षाअनुसार सहभागिता नदेखिएकोप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूमा नेपाली समुदायको सक्रिय उपस्थिति आवश्यक रहेको बताए ।कार्यक्रमको हलमा उठेका जिज्ञासा र  प्रश्नहरूको जवाफ दिँदै राजदूत राईले नेपाली राजदूतावास कतारले कसैमाथि विभेद नगर्ने स्पष्ट पारे।

कतारमा रहेका नेपाली समुदायका  बुद्धिजीवी, व्यवसायी, समाजसेवी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको निर्धारित कार्य तालिकाअनुसार समयमै सम्पन्न गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?