बुटवल । महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सञ्चालन गरिएको एक हप्ते फाइबरका झोला बनाउने तालिम सम्पन्न भएको छ।
पछिल्लो समय बजारमा प्लास्टिकजन्य सामग्रीको प्रयोग घट्दै जाँदा वातावरणमैत्री फाइबरका झोलाको माग बढिरहेको अवस्थालाई मध्यनजर गर्दै महिलाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै खेलराज पाण्डेले महिलाहरूलाई सीप, रोजगारी र आत्मनिर्भरतासँग जोड्न स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले नगरभित्रका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित उपमहानगरपालिकाले सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
नगरप्रमुख पाण्डेले महिलाहरूले आफ्नो फुर्सदको समयलाई सिर्जनात्मक तथा उत्पादनमूलक कार्यमा उपयोग गर्न सके घर व्यवहार सञ्चालनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे। “आजको समयमा महिलाहरू केवल घरभित्र सीमित रहने अवस्था छैन। इच्छा, मेहनत र आत्मविश्वास भए घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने।
उनले घरमै सिलाइ मेसिनमार्फत फाइबरका झोला उत्पादन गर्न सकिने र उत्पादित सामग्रीको बजारीकरणका लागि धेरै सङ्घर्ष गर्न नपर्ने बताए । पाण्डेले सीप सिक्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसलाई निरन्तर अभ्यास, उत्पादन र व्यवसायसँग जोड्नुपर्नेमा जोड दिए। महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उपमहानगरपालिका सधैँ सकारात्मक र सहयोगी रहने उनले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै वडा सदस्य सुनिल शाक्यले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए। उनले कुनै पनि काम सानो वा ठुलो नहुने भन्दै मेहनत, धैर्यता र आत्मविश्वासका साथ अघि बढे सफलता हासिल गर्न सकिने बताए ।
अध्यक्ष शाक्यले महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाज दुवै सशक्त बन्ने धारणा व्यक्त गर्दै आगामी दिनमा पनि महिलाहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाए।
तालिममा सहभागी महिलाहरूले फाइबरका विभिन्न डिजाइनका झोला बनाउने तरिका, सिलाइ प्रविधि, सामग्री छनोट, उत्पादन व्यवस्थापन तथा बजारीकरणसम्बन्धी आधारभूत जानकारी प्राप्त गरेका थिए।
कार्यक्रम संयोजक तथा वडा सदस्य कुमारी देवी दर्नालले सीप, श्रम र आत्मविश्वासको संयोजनबाट महिलाहरूले आफ्नै पहिचान निर्माण गर्दै परिवार तथा समाजको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने भएकाले वडाका २५ जना महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको बताइन ।